
दाङको घोराहीस्थित कारागारबाट भागेका कैदी बन्दी यमराज परियार पक्राउ परेका छन ।
उनलाई भारतको पञ्जाबबाट पक्राउ दाङ ल्याइपुर्याएको छ । गएको महिना कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेर भारत पसेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गर्न सफल भएको हो ।
गर्भवती भएकी प्रेमिकासँग विवाह गर्नुपर्ने भएपछि हत्या गरेको अभियोगमा सजाय काटिरहेका थिए ।
कारागार नाइके समेत रहेका ३० वर्षीय परियार जेलको सुरक्षामा खटिएका प्रहरीसहितको मिलेमतोमा अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाइकल लिएर भागेको ३२ दिनपछि पुनः प्रहरीको फन्दामा परेका हुन । पञ्जाबको लुधियानामा डेरा लिएर परियार बस्ने तयारी गरिरहेको बेला भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
कारागारबाट अस्पताल लैजाने भनेर उनलाई प्रहरी जवान धनबहादुर चौधरीले दुई युवतीसहित घोराहीकै थकाली भान्सघर पुर्याएका थिए ।
त्यही होटलबाट परियार प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर भागेका थिए ।
कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरी र एक महिला कारागार चलान भएका छन् । त्यसैगरी जेलर युवराज परियार, सुरक्षा प्रमुख असइ रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु निलम्बित छन् ।
कर्तव्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका परियारको अब कारागारबाट भागे बापत थप सजाय पाउनेछन् ।