०९ साउन २०८३, शनिबार

नालीमा परेर गैँडाको मृत्यु भएको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

माघ १४, २०७८
नालीमा परेर गैँडाको मृत्यु भएको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी
तस्वीरः सविना खड्काको फेसबुकबाट ।

सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

गत आइतवार नालीको खोँचमा परेर गैँडा मरेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य छन् । 

समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ । बिहीवारबाट समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरूसँग छलफल थालेको छ । 

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बिहीवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग छुट्टाछुट्टै छलफल गरेको थियो । शुक्रवार सामुदायिक वनका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सोही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ । - रासस

salt training

कमेन्ट गर्नुहोस्