
काठमाडौं, १७ असार — नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले गुल्मीको मदाने गाउँपालिकामा भएको घटनाको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्ने कोशिश गरिएको बताएकी छन् ।
उनले मदानेको म्यालपोखरीमा भएको घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउँदै आफ्नो विरुद्धमा गलत प्रचार गरिएको बताएकी छन् ।
असार १४ गते मदाने गाउँपालिकाको म्यालपोखरीमा नेपाली कांग्रेस कार्यकर्ता हेरम खत्रीमाथि कुटपिट भएको थियो ।
कांग्रेसले खत्रीमाथि एमाले कार्यकर्ताहरुले बाटो छेकेर खुकरी प्रहार गरिएको आरोप लगाएको छ । साथै उक्त घटना झाँक्रीको निर्देशन अनुसार भएको अरोप कांग्रेसले लगाएको छ ।
झाँक्रीले उक्त घटनामा आफ्नो कुनैपनि संलग्नता नभएको र कांग्रेसले चुनाव हार्ने भएपछि झगडा निकालेको स्पष्ट पारेकी छन् । साथै उनले आफ्नो बिरुद्धमा गलत प्रचार नगर्न कांग्रेस नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेकी छन् । आफ्नो निर्देशनमा यस्तो उश्रृंखल घटना हुनै नसक्ने उनले दाबी गरेकी छन् ।
उनले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने कुरा पनि शतप्रतिशत गलत भएको बताएकी छन् । कांग्रेसले गलत प्रचार गरेको भएपनि अहिले आफू घरमै रहेको उनले बताएकी छन् ।
एमालेले मदानेमा भएको घटना कांग्रेस प्रतिनिधी खत्रीको कारणले भएकाे बताएको छ । एमाले गुल्मी काठमाडौं क्षेत्रीय मञ्चका सदस्य विमल भट्टराईले खत्रीले एमाले कार्यकर्ताहरुमाथि गालीगलौज तथा ढुंगा प्रहार गरेको र एमाले कार्यकर्ताहरुले प्रतिकार गर्दा उक्त घटना भएको बताए ।
भट्टराईले ढुंगाले लागेर खत्रीलाई चोट लागेको बताए । कांग्रेसले भनेजस्तो खुकुरी वा छुरा प्रहार नभएको उनले दाबी गरे । खत्रीको ढुंगा प्रहारबाट पनि दुई जना एमाले कार्यकर्ता घाइते भएको उनले बताए । तर कांग्रेसले एकतर्फी हिसाबले घटनाको व्याख्या गरेको अारोप उनले लगाए ।
घटना भएपछि उक्त घटनाको विषयमा सोधपुछ गर्न नेतृ झाँक्री इलाका प्रहरी कार्यालयमा पुगेको भट्टराईले बताए । भट्टराईले झाँक्री वा अरु कुनै एमाले कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने विषय गलत भएको बताए ।