
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरू हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बिहीवार बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको जनाइएको छ ।
बिहीवार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
बिहीवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।
शुक्रवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ । ‘देशका धेरै स्थानहरूमा मेघगर्जन चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशका १ वा २ स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ ।
शुक्रवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
शनिवार दिउँसो देशका प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने भएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।
शनिवार राति देशभर पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । प्रदेश १ र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । ‘देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना समेत छ,’ महाशाखाले जनाएको छ ।