
बालिकाको हत्या अभियोग लागेकी माता उमा शाही ठकुरीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । उनीसँगै उनकी एक जना सहयोगी युवतीलाई पनि सुधारगृह पठाएको छ ।
पुष २५ गते नागार्जुन नगरपालिका– १ पानी ट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् ।
एक महिना अगाडि अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भई भक्तपुर धुञ्चेपाखा बस्दै आएकी १४ वर्षीया किशोरीलाई उनकी आमा रोशनी श्रेष्ठले कथित माताकोमा ल्याएकी थिइन् ।
माताले आफूले निको बनाइदिने भन्दै ती बालिकालाई आफ्नो शरणमा छाड्न भनिन् । उनीहरू उपचार हुने आशामा बालिकालाई त्यहाँ छाडेर गएका थिए ।
२४ गते बिहान ५ बजे अचेत भएपछि ती माताले आफन्तलाई फोन गरेर बोलाएको तथा आफन्तले अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताएकी थिइन् ।
ती बालिकाको शरीरभरी निलडाम र चोटहरू देखिएका छन् । कथित माता उमाले त्रिशूलले घोचेर हत्या गरेको आरोप परिवारले लगाउँदै आएको छ ।
शरीरमा निलडाम, ठाउँ–ठाउँमा तिखो चिजले घोचेका प्वालहरू छन् । मुखमा चोटैचोट र नाकबाट रगत आएको अवस्थामा ती बालिका थिइन् ।
कक्षा ७ मा अध्ययनरत ती बालिकाको परीक्षा आएको भन्दै बीचमा परिवार पनि लिन आएका थिए ।