
कोरोना संक्रमण शुरू भएदेखि राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला नसर्दा पक्षीरोगको परीक्षण गर्न समस्या भएको छ ।
पंक्षीको पीसीआर प्रभावित हुँदा बर्डफ्लूजस्ता रोगको पहिचानमा कठिनाइ भएको हो ।
नेपालमा बर्डफ्लू रोग देखा परिसकेको अवस्थामा पोल्ट्रीको राजधानीका रूपमा परिचित चितवनको राष्ट्रिय प्रयोगशालामा परीक्षणको काम गर्न नपाउँदा काठमाडौं पठाउनुपर्ने बाध्यता छ ।
सरोकारवालाले मानव स्वास्थ्यलाई मात्रै प्राथमिकता दिएका कारण पक्षीको पीसीआर प्रयोगशाला सञ्चालनमा ध्यान नपुगेको हो ।
राष्ट्रिय पक्षीरोग प्रयोगशाला भरतपुरमा पक्षीको पिसीआर प्रयोगशाला रहेको कक्षमा विक्रम संवत् २०७६ चैतदेखि भरतपुर अस्पतालको कोभिड प्रयोगशाला सञ्चालनमा रहेको छ । प्रयोगशालाका प्रमुख डा. चेतनारायण खरेलका अनुसार अस्पतालको मुख्य पीसीआर उपकरणबाहेक अन्य सबै उपकरण र ठाउँ प्रयोगशालाकै प्रयोग भइरहेको छ ।
प्रयोगशाला सञ्चालन गर्न नपाउँदा कुखुरामा लाग्ने एभिएन इन्फ्लून्जा र एलाइजाजस्ता रोगको परीक्षण प्रभावित भएको उनले बताए ।
प्रयोगशालाले २ पटक भरतपुर अस्पताललाई ठाउँ खाली गरिदिन पत्राचार गरिसकेको छ भने सरोकारवाला निकायमा बोधार्थ समेत पठाएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लू नियन्त्रण समितिको बैठकमा तत्काल प्रयोगशाला स्थानान्तरण गर्ने विषयमा निर्णय भए पनि काम नभएको उनले जानकारी दिए ।
परीक्षण हुन नसक्दा संकलन भएको नमूनालाई प्रयोगशालाले केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौं पठाउँदै आएको छ । कार्यालयमा ३ चिकित्सकसहित १२ कर्मचारी छन् । प्रयोगशाला सञ्चालन नहुँदा कर्मचारीको समग्र कार्यक्षमता नै प्रभावित भएको खरेल बताउँछन् ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी प्रयोगशाला स्थानान्तरणका लागि गृहकार्य भइरहेको बताउँछन् । प्रयोगशालाले ३ महिनाभित्र स्थानान्तरण गरे हुने जनाएकै कारण ओमिक्रोन भेरियन्ट बढेको समयमा स्थानान्तरण नगरिएको अधिकारीले बताए ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) आस्मान तामाङले प्रयोगशाला सर्ने कुरा भएको जनाउँदै अझै नसरेको भए तत्काल आफूले अस्पतालसँग कुरा गर्ने बताए ।