०८ साउन २०८३, शुक्रबार
डिजाइनमै त्रुटि

रोहिणी सिञ्चाइ आयोजना : ९० प्रतिशत काम र ३६ करोड सकिएपछि कामै नलाग्ने निष्कर्ष !

माघ २१, २०७८
रोहिणी सिञ्चाइ आयोजना : ९० प्रतिशत काम र ३६ करोड सकिएपछि कामै नलाग्ने निष्कर्ष !

रूपन्देहीस्थित रोहिणी नदीमा बन्दै गरेको सिञ्चाइ आयोजनाको ९० प्रतिशत काम सकिएपछि डिजाइन नै गलत भएको भन्दै रिडिजाइन थालिएको छ ।

काम सकिनै लागेको आयोजना कामै नलाग्ने देखिएपछि पुनः डिजाइन र सर्भे गर्न थलिएको हो । 

हचुवाको भरमा डिजाइन र सर्भे गर्दा राज्यको ३६ करोड रूपैयाँ खेर गएको छ । ४७ करोडको आयोजनामा ३६ करोड बजेट खर्च भइसकेको छ ।

कृषि क्षेत्रको विकासका लागि बनाइएको जलाशययुक्त पूर्वाधारमा खेलाँची  गरी राज्यको करोडौं रूपैयाँ बालुवामा पानी सरह खेर फालिएको छ ।

गएको वर्षायाममा रोहिणी नदीमा ठूलो भेलसहितको बाढी आउँदा देवदहका केही वडा र तिलोत्तमाको वडा नम्बर १० पूरै जलमग्न भएका थिए ।

सर्वसाधारणलाई नेपाली सेनाको टोलीले उद्दार गर्नुपरेको थियो ।

बाढीले बस्ती नै डुबाउने अवस्था त्यही असफल सिञ्चाइ योजनाका कारणले आएको थियो । 

वर्षायाममा हजारौं हेक्टर खेतीयोग्य जमिन र बस्तीमा बाढी पसेपछि स्थानीय आक्रोशित छन् । आयोजनाकै कारण बाढीले किसानको ३६ करोड रुपैयाँ बराबरको अन्नबाली र धनमाल नष्ट गरको छ ।

जिल्लाको देवदह र तिलोत्तमामा विभिन्न क्षेत्रलाई सिञ्चाइ सुविधा पुर्‍याउने गरी २०७४ देखि निर्माण शुरू गरिएको परियोजना हचुवाका भरमा ‘कन्सलट्यान्ट हायर’ गरी काम गर्दा असफल हुन पुगेको हो ।

आयोजना पूर्व खानेपानी राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकको पहलमा निर्माण शुरू भएको स्थानीय बताउँछन् ।

जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालय रूपन्देहीअन्तर्गत बनेको आयोजना फेरि डिजाइन गरी प्रदेश मातहत ल्याएर पुनःनिर्माणको काम अगाडि बढाउन थालिएको छ ।

डिभिजन प्रमुख टंकबहादुर केसीले आयोजनाले फाइदा भन्दा बेफाइदा धेरै पुर्‍याउने देखिएपछि पुनः अध्ययन गरी नयाँ ढंगबाट अगाडि बढाइएको स्वीकार गरे । 

‘परियोजनाको डीपीआर बनाउँदा ‘कन्सलट्यन्ट’ हायर गरे,’ केसीले लोकान्तरसँग भने, ‘आयोजनाले वर्षायाममा सयौं बिगाहा खेती र बस्ती डुबायो । त्यो अहिले आएर गलत देखियो । अब रिसर्भे र रिडिजाइन गरी तयारी अगाडि बढेको छ ।’

संघीय सरकार मातहतको आयोजना अहिले प्रदेशमा हस्तान्तरणको प्रक्रियामा छ ।  

तिलोत्तमा नगरपालिकाको वडा नम्बर १० र देवदह नगरपालिको वडा नम्बर २ को संगमस्थल रोहिणी नदीमा ३ हजार ५०० मिटर लम्बाइको ताल बनाई ८०० मिटर चौँडाइ र ५० मिटर गहिराइ सहितको ड्याम बनाएर तिलोत्तमा र देवदह क्षेत्रमा १ हजार ५०० हेक्टर खेतीयोग्य जमिनमा सिञ्चाइ सुविधा पुर्‍याउने योजना रहेको थियो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जलाशयले गर्दा वर्षायाममा नदी वरपरका बस्तीमा ठूलो क्षति पुगेको बताए ।

‘वर्षामा जलाशयकै कारण बस्ती र खेतीमा बाढी पस्दा ठूलो क्षति गर्‍यो,’ घिमिरेले भने, ‘स्थानीयलाई लाभभन्दा घाटा भोग्न बाध्य बनायो ।’ 

आर्थिक वर्ष २०७२/२०७३ मा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको आयोजनाको काम आर्थिक वर्ष २०७४ बाट अगाडि बढेको थियो । 

आयोजनाको हेडबक्स (बाँध, ड्यामसहित) २८ करोड ४० लाख र  नहरतर्फ ८ करोड १ लाख रुपैयाँमा अर्घाखाँचीको बबुल जेभीले निर्माणको काम गरेको हो । 

आयोजनाको बायाँतर्फ २ हजार ६५५ लिटर प्रतिसेकेण्ड पानीको बहाव क्षमतासहितको क्यानल तयार भएको छ ।

त्यस्तै तिलोत्तमातर्फ ९६५ लिटर प्रतिसेकेण्ड पानी जाने गरी क्यानल तयार भएको छ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले आयोजनाको डिजाइन गर्दा ठूलो हेलचेक्राइँ भएको बताए । 

उपाध्यक्ष क्षेत्रीले आयोजना प्रदेश मातहत आएपछि प्रत्यक्ष निगरानीमा राखेर काम गरिने बताए । अब पर्यटक भित्र्याउने योजनासहित नयाँ ढंगबाट आयोजनाको काम अगाडि बढ्ने उनले बताए ।

प्रदेश योजना आयोगको टोलीले आयोजनाको अनुगमन पनि गरेको छ । स्थानीय तथा वातावरण क्षेत्रका जानकार युवराज कंडेलले जलाशयले गर्दा वर्षायाममा स्थानीय ठूलो जोखिममा पर्ने गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्