
गृहमन्त्री बालकृष्ण खाणले मेलम्चीखोलामा निर्मित 'बेलिब्रिज’ शनिबार उद्घाटन गरेका छन्।
हेलम्बु गाउँपालिकाको चनौटे बजारस्थित उक्त पुलसहित हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुङ्गेपुल र सातवटा पक्की पुल गत असार १ गतेको बाढीले बगाएको थियो ।
चनौटेको बेलिब्रिज नेपाली सेनाले नौ हप्तामा जडान गरेको हो । सो पुल सडक डिभिजन कार्यालय चरीकोटलाई सेनाले शनिबार हस्तान्तरण गरेको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पुल सञ्चालनमा आएसँगै हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा ७ र ८ तथा पाँचपोखरीका १ र २ वडालगायतका ठाउँमा यातायात सहज भएको बताए ।
सो पुलको लम्बाइ १६० फिट र चौडाइ १३.७ फिट छ । सो पुलको भार क्षमता २४ टन रहेको गृह मन्त्रालयअन्तर्गतको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले जानकारी दिए। विपत् व्यवस्थापन कोषको चार करोड लागतमा यो पुलको निर्माण भएको हो । एक करोडको लागतमा सेनाले तनहुँबाट चनौटेसम्म ल्याई सो पुल जडान गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।