नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले यथास्थितिमा एमसीसी सम्झौता संसदबाट पारित नगर्नेमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले एमसीसीबारे आफ्नो पार्टीको अडान र दृष्टिकोणप्रति भ्रममा नपर्न अपिल गरेका हुन् ।
'प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टीपंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,' श्रेष्ठले लेखेका छन् ।
एमसीसी अनुमोदनका लागि फागुन १६ सम्मको समय माग्दै देउवा र प्रचण्डले लेखेको पत्र आइतवार सार्वजनिक भएको थियो ।