०३ असार २०८३, बुधबार

दुई प्रदेश जोड्ने पुल निर्माणकार्य धमाधम

फागुन १, २०७८
दुई प्रदेश जोड्ने पुल निर्माणकार्य धमाधम
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिका दुईवटा पुलको निर्माणकार्य धमाधम छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँको चिप्लेघाट र पञ्चपुरी नगरपालिका–११ को कुइनेघाटदेखि कैलालीको मोहन्याल गाउँपालिका–७ सँग जोड्ने दुई पुलको निर्माण भइरहेको हो ।

५५० मिटर लामो चिप्लेघाटको पुलको काम करिब ७० प्रतिशत र ३५० मिटर लामो कुइनेघाटको पुल करिब ९० प्रतिशत सकिएको छ । यी दुवै पुल यसै आर्थिक वर्षको असार मसान्तभित्र सक्ने लक्ष्य लिइएको छ ।

दुवै पुलको निर्माण व्यवसायी अनक/लुम्बिनी जेभीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले तोकिएको अवधिभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको बताए । पुल सञ्चालनमा आएपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको सम्बन्ध सिधा जोडिनेछ भने दूरी पनि घट्नेछ । अहिले सुदूरपश्चिम प्रदेश जानका लागि सुर्खेतदेखि कोहलपुर हुँदै कर्णाली चिसापानी पुग्नुपर्छ । पुल बन्दा चौकुनेदेखि चिसापानीको दूरी बढीमा ११ किमि हुनेछ ।

कुइनेघाट पुल २०७१/०७२ मा सम्झौता भई २०७६ मा सक्नुपर्ने थियो । साइट इन्चार्ज श्रेष्ठले पुलको डिजाइन पास हुनै दुई वर्ष लागेको र कोरोनाका कारण काममा पनि केही ढिलाइ भएको बताए ।

सो पुल ३२ करोडको लागतमा आगामी असारमा सक्नेगरी निर्माण भइरहेको छ । यस्तै, चिप्लेघाटको पुल निर्माणको सम्झौता २०७४ मा भएको थियो । २०७८ मा सक्ने लक्ष्य रहेको सो पुलको लागत ६० करोड रहेको साइट इन्चार्ज श्रेष्ठले बताए । उनले दुवै पुलको काम तीव्र गतिमा भइरहेको हुँदा तोकिएको अवधिभित्र निर्माण सम्पन्न गरी दुई प्रदेश जोडिने जिकिर गरे । अहिले ती ठाउँ पुग्न कि झोलुङ्गेपुल तर्नुपर्छ कि डुङ्गाबाट जानुपर्छ । गोरखापत्र दैनिकमा ललित बसेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्