११ साउन २०८३, सोमबार

पशुपति धर्मशालामा सञ्चालित बतास समूहले चलाएको होटल सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश

पशुपति धर्मशालामा सञ्चालित बतास समूहले चलाएको होटल सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश

बतास समूहले पशुपति क्षेत्रमा सञ्चालन गरेको होटल आनन्दको सञ्चालनमा कुनै रोक नलगाउन पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । 

नेपाल–भारत मैत्री धर्मशाला सञ्चालन गरेर बतास समूहले होटल आनन्दको नामबाट सेवा दिँदै आएको थियो । बतासको पक्षमा अदालतले अन्तरिम आदेश दिएको पाटन उच्च अदालतका रजिस्ट्रार ठगेन्द्र कट्टेलले बताए । 

उच्च अदालत पाटनका न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बतास समूहबाट सञ्चालन गरिएको होटल आनन्दको सञ्चालनमा कुनै अवरोध नपुर्‍याउन पशुपति क्षेत्र विकास कोषलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा कोषले धर्मशाला सञ्चालनमा अवरोध पुर्‍याउन खोजेको र यसले करार सम्झौता प्रतिकूल भएको भन्दै होटल आनन्द उच्च अदालत गएको थियो । 

अदालतले आइतवार बतासले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै विपक्षी पशुपति क्षेत्र विकास कोषलगायतका निकायमाथि कारण देखाऊ आदेशसहितको अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा ‘रिट निवेदनको प्रकृति र विषयवस्तु समेतलाई मध्यनजर गर्दा अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकासा दिन उचित देखिएको’ उल्लेख छ । 

त्यस्तै ‘मिति २०७८/११/०९ मा दिन अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन आउनू भनी विपक्षीहरुलाई सूचना दिई सोही बमोजिम निवेदकलाई तारेख तोकी नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ ।

अदालतको आदेशमा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्