
नेकपा एमालेले सर्वोच्चका ४ न्यायाधीशविरुद्ध महाभियोग लगाउने भन्ने विषयमा कुनै निर्णय नभएको प्रस्ट पारेको छ ।
पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले प्रमुख सचेतक विशाल भट्टराईले न्यायाधीशहरूलाई महाभियोग लगाउने भनेर गरिएको चर्चा पूर्वानुमानका आधारमा मात्रै आएको बताए ।
'एमालेले काउन्टर दिन केही न्यायाधीशलाई महाभियोग लगाउँछ, सभामुखविरुद्ध प्रस्ताव ल्याउँछ भनेको सुनियो, तर कसैले स्रोत उल्लेख गरेको देखिएन,' भट्टराईले भने, 'यो पूर्वानुमान मात्र थियो ।'
उनले संविधान, कानून र परिस्थिति विचार गरेर नेतृत्वले उचित निर्णय लिने बताए ।
'यस सम्बन्धमा सांसदहरूले आफ्नो मन्तव्य राख्दै उच्चस्तरीय नेतृत्व बसेर ठोस निर्णय आओस्, भन्नुभएको छ,' भट्टराईले भने, 'यस सम्बन्धमा नेतृत्वले नै निर्णय लिनेछ ।'
सांसदहरूको हस्ताक्षर संकलन भएको खुलाउँदै उनले शीर्ष नेतृत्वले गर्ने निर्णयकै आधारमा अगाडि बढ्ने बताए ।
बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आवेग र उत्तेजनामा आएर नभई सुझबुझपूर्ण निर्णय लिने बताएका थिए ।
बैठकमा भीम रावल, घनश्याम भुसाललगायत सांसदले चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान नहुने धारणा राखेका थिए ।