०६ साउन २०८३, बुधबार

रामेछाप प्रहरीको सफलता : १ वर्षमा ५७ अभियुक्त पक्राउ

रामेछाप प्रहरीको सफलता : १ वर्षमा ५७ अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकेर फरार रहेका ५७ जना अभियुक्तलाई पक्राउ गरेको छ । 

अदालतको फैसलापछि फैसला कार्यान्वयनका क्रममा २०७७ माघ ९ गतेदेखि हालसम्म प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले बताए । 

ढुंगानाका अनुसार पक्राउ परेका ५७ जनालाई कूल ४७ वर्ष ७ महिना २ दिन कैद सजाय र ४३ लाख ८५ हजार ९०५ रुपैयाँ जरिवाना भएको छ ।

सोमवार जिल्ला प्रहरी कार्यालय रामेछापले आयोजना गरेको सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा ढुंगानाले आफ्नो १ वर्षे कार्यकालमा भएका उपलब्धिबारे बताउँदै जानकारी गराए ।

यसैक्रममा २८ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापा मगरलाई घरभित्र डोकोमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

मगरसहित ४ जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेका थिए । 

घटनाको मुद्दामा जिल्ला अदालत रामेछापले २०५० फागुन १६ गते २० वर्ष कैद हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनको क्रममा प्रहरीले घटना घटेको २८ वर्षपछि गत पुस १३ गते मगरलाई पक्राउ गर्न सफल भएको छ ।  

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने ४४ वर्षीय श्रेष्ठलाई गत माघ ११ गते पक्राउ गरेको थियो ।

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटस्थित सुनकोशी पुलको ठेक्काको कमिसनको विषयमा विवाद हुँदा रामेछापको राकाथुममा निखिल भनिने तीर्थमान दोङको हत्या भएको थियो ।

दोङको २०६६ असोजमा हत्या भएको हो । काभ्रेको तेमाल गाउँपालिका घर भएका तीर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको घटना १२ वर्षसम्म गुपचुप रहेको थियो । 

घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा संलग्न रहेका मुख्य अभियुक्त बुवा ज्ञानबहादुर तामाङ र छोरा जयराम तामाङसहित पदमवीर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ गते खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५९ वर्षीय ज्ञानबहादुर र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । ज्ञानबहादुर घटनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पक्राउ परेका थिए । पदमवीर भने रामेछापबाटै पक्राउ परेका हुन् ।

जिल्ला अदालतले घटनामा संलग्न ज्ञानबहादुर र जयराम तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने पदमवीरलाई धरौटीमा छाडेको छ । 

सफल डाँका अपरेसन

२०७८ भदौ ३१ गते साँझ लिखु तामाकोशी गाउँपालिका–६ जामुनेस्थित चन्द्रबहादुर बुढाथोकीको घरमा लुटपाट भयो । चन्द्रबहादुरकी पत्नी सुनीता र २ छोरी मात्रै भएको समयमा डाँका समूहले भरुवा बन्दुकको कुन्दाले हिर्काएर र छुरी देखाएर आमाछोरी तीनै जनालाई घाइते बनाई सुनका गरगहनाका साथै नगद पैसा चोरी गरेका थिए ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट तत्कालै अनुसन्धान अधिकृत तथा घटनास्थल विशेषज्ञ र प्रहरी चौकी खिम्ति समेतको टोली घटनास्थल पुग्यो । घटनाको अनुसन्धान पछि प्रहरीले गत असोज ७ असोज गते लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गर्‍यो । 

गोकुलगंगा गाउँपालिका–६ फर्पुका ३३ वर्षीय ठूला भन्ने मिलन तामाङ, २६ वर्षीय राहुल भन्ने लालबहादुर तामाङ, ३४ वर्षीय जंगे भन्ने आकाश तामाङ र १८ वर्षीय आशिष भन्ने भूमिराज तामाङ काठमाडौं र रामेछापका विभिन्न स्थानबाट पक्राउ परे । पक्राउ परेकाहरूले रामेछाप जिल्लाभर संगठित रूपमा लुटपाट गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

अभियुक्तबाट लुटपाट गरिएका सुनका गहना र नगद समेत प्रहरीले बरामद गरेको थियो । घटनामा जिल्ला अदालत रामेछापले ३ जनालाई कारागार र १ जनालाई बाल सुधार गृह चलान गर्न आदेश दिएको थियो । 

हिरासतमा स्वास्थ्य परीक्षण, टेलिभिजन र पुस्तकको व्यवस्था 

रामेछाप प्रहरीले २०७८ असार २१ गतेबाट थुनुवा कक्षमा टेलिभिजन र पुस्तकको व्यवस्था गरेको छ । थुनुवाहरू सूचनाबाट ज्ञानमूलक विषयवस्तुमाथि अपडेट हुन् भन्ने उद्देश्यका साथ २ वटा थुनुवा कक्षमा टेलिभिजनसहित पुस्तकको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

जिल्ला अस्पतालसँग समन्वय गरी हिरासत कक्षमै मासिक रूपमा थुनुवाहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।

नागरिक सहायता कक्षको स्थापना  

प्रहरी कार्यालयमा आउने सेवाग्राहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले नागरिक सहायता कक्षा स्थापना गरेको छ । २०७८ साउन ३१ गतेबाट नागरिकलाई सहज र सरल सुविधा तथा सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सहायता कक्षा स्थापना गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको आन्तरिक स्रोतबाट निर्माण गरिएको कक्षमा सेवाग्राहीका लागि टेलिभिजनको सुविधा समेत रहेको छ । प्रहरीमा आउने सेवाग्राहीलाई सहज होस् भन्ने हेतुले रामेछाप प्रहरीले नागरिक सहायता कक्षबाट ६ वटा रंगका कलर कोडेड कार्ड सहितको सेवा सञ्चालन गरेकोे छ ।

कुन कामका लागि कुन कोठामा जाने भन्ने अन्योल हटाउन प्रहरीले सेवाग्राहीलाई रंगका आधारमा सम्बन्धित कोठसम्म पुर्‍याउन ‘कलर कोडेड’ कार्ड सहितको सेवा सञ्चालन गरेको छ ।  

प्रहरी कार्यालयका लागि ७ रोपनी जग्गा 

जिल्ला प्रहरी कार्यालय रामेछाप अन्तर्गतका विभिन्न प्रहरी चौकीहरूको कार्यालय स्थापनाका लागि ७ रोपनी जग्गा प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी चौकी गोकुलगंगाका लागि ३ रोपनी, प्रहरी चौकी फुलासीको लागि ३ रोपनी र प्रहरी चौकी लुभुघाटको लागि १ रोपनी गरी जम्मा ७ रोपनी जग्गा प्राप्त गरेको छ ।

प्रहरीले जीर्ण प्रहरी चौकीका कारण भाडामा बस्नुपर्ने अवस्था भएकाले कार्यालय स्थापना गर्नको निमित्त प्रहरीले जग्गा उपलब्ध गराउन पहल गरेको थियो । सोही अनुसार ७ रोपनी जग्गा प्राप्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्