
वैवाहिक बलात्कारको कसूरमा उच्च अदालत दिपायलले अछामका एक पुरुषलाई ३ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले सो फैसला सुनाएको हो । बहुविवाह गरेपछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनी प्रतिवादले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको आरोप लागेको थियो ।
उक्त मुद्दामा परिवर्तित नाम (ब) ले बहुविवाहको मुद्दामा छुटेर आएपछि श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए। यस्तै २०७७ असोज ६ गते जबरजस्ती करणी समेत भएको भन्दै पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दाको अनुसन्धान गरेको थियो।
पीडितको शारीरिक परीक्षण गर्दा गर्धन र दायाँ कुमतर्फ चोट पटक लागेको देखिएको औँल्याइएको थियो। पीडितले अदालतमा बकपत्र गर्दा समेत जाहेरी अनुसार गडाउ गरी बेहोरा लेखाएको र प्रतिवादीले भने सहमतिमा करणी गरेको भनी बयान दिएका थिए। पीडितले आफूमाथि जबरजस्ती करणी भएपछि छिमेकीलाई गुहारी आफूमाथि भएको अन्यायको बेहोरा सुनाएको र सोही कुरा साक्षीहरूले अदालतमा ब्यक्त गरेका थिए।
तर जिल्ला अदालतले भने पीडितले जबरजस्ती करणी गरेको भन्ने बेहोराको बकपत्र गरेको भएतापनि जबरजस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी सफाई दिएको थियो।
सोमबार भने उच्च अदालत दिपायलले जिल्ला अदालतको सो फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोँकमा निर्मम तरिकाले कुटपिट गरी यातना दिई जबरजस्ती करणी गरेकोमा दोषी ठहर गर्दै यो सजाय सुनाएको हो।
विद्यमान कानून अनुसार एउटा कसुर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसुर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बर सम्म थप सजाय हुने भएकोले यस मुद्दामा ३ बर्ष ६ महिना कैद तोकिएको फैसलामा उल्लेख छ ।