
राष्ट्रिय परिचयपत्रको आवेदन दिने क्रममा वडाअध्यक्षका मान्छेले आफू माथि कुटपिट भएको भन्दै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका एक शिक्षकले ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दर्ता गराएका छन् ।
सुनकोशी गाउँपालिका वडा नम्बर–६ कार्यालयमा राष्ट्रिय परिचयपत्रको आवेदन फारम संकलन भइरहेको छ ।
मंगलबार आवेदन फारम संकलनमा वडा अध्यक्षले विभेद गरेको भन्दै विरोध भएपछि वडा अध्यक्ष रामकुमार थापाका ड्राइभर रामशरण कार्की र अर्का सहयोगी पेम्बा तामाङले शिक्षक तिलक बहादुर कार्कीलाई कुटपिट गरेको भन्दै उनले उजुरी दर्ता गराएका छन् ।
कार्की सेती देवी माविमा कार्यरत शिक्षक हुन् । ‘मलाई वडा अध्यक्षकै निर्देशनमा कुटपीट भएको छ । त्यसको छानविन गरिपाउँ भनि ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दर्ता गराएको छु’, कार्कीले भने । कुटपिटमा परेका कार्की सामान्य उपचारपछि घर फर्किएका छन् ।
राष्ट्रिय परिचयपत्रको आवेदन दिन लाईन बसेकामध्ये वडा अध्यक्षले आ–आफ्नो मान्छेलाई मात्रै प्राथमिकता दिए पछि त्यसको विरोध गरेको र त्यही विषयलाई लिएर वडा अध्यक्षले आफूलाई कुटपिट गर्न लगाएको कार्कीले बताए ।
शिक्षक कार्की माथि वडा अध्यक्ष थापाका ड्राइभर कार्की थरका व्यक्तिले आक्रमण गरेको आफूले प्रत्यक्ष देखेको स्थानीय ताराप्रसाद पराजुलीले बताए ।
वडा अध्यक्ष थापाले भने कुटपिट नभइ सामान्य विवादमात्रै भएको दावी गरेका छन् । ‘भिडमा धकेलाधकेल मात्र भएको हो, कुटपिट भएको होईन’, वडा अध्यक्ष थापाले भने ।
इलाकाप्रहरी कार्यालयले भने दुवै पक्षलाई बुधबार बोलाएर छलफल गर्ने तयारी गरेको छ ।