
अमेरिकी सहयोग परियोजना (एमसीसी)यथास्थितिमा अगाडि बढाएमा विपक्षमा उभिने निर्णय माओवादीले गरेको छ ।
सिंहदरबारमा बुधवार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय हितविपरीतका प्रवधान कायम राखेर एमसीसी पारित गर्न नसकिने निर्णय गरेको हो ।
'राष्ट्रिय हितविपरीतका प्रावधान संशोधन नगरी यथास्थितिमा पास गर्न सकिन्न, एमसीसीलाई जबरजस्ती अगाडि बढाए विपक्षमा मतदान गर्ने निर्णय भएको छ,' बैठकबाट बाहिरिने क्रममा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने ।
सहमति र संशोधनविना एमसीसी अगाडि बढाए गठबन्धन समेत तोडिने गुरुङले बताए ।
'पाँच दलको सहमतिविना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयविना कुनै घटक आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ,गठबन्धन तोडियो भने सरकार पनि स्वत: तोडिन्छ,' उनले भने ।
साथै बैठकले सदन सुचारु गराउन जोड दिने निर्णय पनि गरेको छ ।
'सदन सुचारु गर्न जोड दिने निर्णय पनि भएको छ,' गुरुङले भने, 'सदन सुचारु नगरी कुनै पनि एजेन्डा अगाडि बढ्दैन ।'