
सभामुख अग्नि सापकोटाले लामो समयदेखि संसद् अवरुद्ध रहँदा बाहिर टीकाटिप्पणी र प्रश्न उठेको भन्दै अवरोध हटाउन एमालेसँग आग्रह गरेका छन् । उनले विधि र प्रक्रियामार्फत् आफ्ना कुरा राख्न प्रतिपक्षी दललाई आग्रह गरेका हुन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी कायम राखेपछि सभामुख सापकोटाले सदनमा आफ्ना कुरा राख्न पाउनुपर्ने विपक्षीको मागमा आफ्नो समर्थन रहेको बताएका हुुन् ।
‘मैले प्रतिपक्षी दलका नेताहरूको कुरा सुनेको छु, संसद्मा छलफल गर्न र आफ्ना कुरा राख्न पाउनुपर्छ भन्ने कुरा सुनेको छु । तपाईंहरूको कुरासँग म शतप्रतिशत सहमत छु । छलफलको वातावरण बनाउन विशेष अनुरोध गर्छु,’ सापकोटाले भने ।
एमालेले भने सभामुख सापकोटाले तटस्थ भूमिका नखेलेको भन्दै सदनमा अवरोध जारी राखेको छ । माधव नेपाललगायत पार्टीले कारवाही सिफारिश गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले भदौ २३ गतेदेखि प्रतिनिधि सभामा लगातार अवरोध गर्दै आइरहेको छ ।
पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक ५९ दिनपछि आज बसेको हो । अर्को बैठक फागुन ६ गते शुक्रवारका लागि बोलाइएको छ ।