
नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले एउटा परियोजना स्वीकार नगर्दा सबै सहयोग बन्द हुन्छ भन्ने भ्रम पाल्न आवश्यक नरहेको बताएका छन् ।
उनले एउटै हिउँदले जाडो नजाने उल्लेख गर्दै एउटा सहयोगको परियोजना नलिँदैमा अमेरिकाले नेपालसँगको ७० वर्षे लामो मित्रता तोड्न नसक्ने बताएका हुन् । सांसद कार्कीले नेपाल असंलग्न परराष्ट्र नीतिमा तटस्थ बस्नुपर्ने भन्दै संलग्न परराष्ट्र नीतिलाई अझ परिमार्जित गरेर जानुपर्ने उल्लेख गरे ।
‘अहिले शीतयुद्ध शुरू भइसकेको छ, यो शीतयुद्धमा भारतलाई अमेरिका आफ्नो रणनीतिक साझेदार बनाउन खोजिरहेको छ । अमेरिका र चीनको बीचमा यो हुँदैछ,’ उनले भने, ‘चीन हाम्रो नजिकको छिमेकी हो उत्तरको, भारत दक्षिणको । यो स्थितिमा नेपाल न्युट्रल रहनुपर्छ । नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई अझ परिमार्जित गरेर जानुपर्छ ।’
उनले शान्ति क्षेत्रको प्रस्तावलाई फेरि अगाडि बढाउनुपर्ने बताए । ‘म नेताहरूसँग कुरा गरिरहेको छु, शान्ति क्षेत्रको प्रस्तावलाई फेरि एक पटक हामीले हाम्रो संसदमा प्रस्ताव पास गर्ने, शान्ति क्षेत्रको प्रस्तावलाई फेरि हामीले मुभ गर्नुपर्छ,’ उनले भने ।