१० साउन २०८३, आइतबार

किन खुम्चियो माओवादी ?

कात्तिक २०, २०७४
किन खुम्चियो माओवादी ?
काठमाडौं,१९ असार- निर्वाचन तथ्यांक विश्लेषण गर्ने हो भने माओवादीले दोस्रो संविधानसभा निर्वाचनभन्दा केही हदसम्म मत प्रतिशत बढाएको छ । तर, जितेको परिणाम हेर्ने हो भने सहरमा होइन, गाउँमै माओवादी खुम्चन पुगेको छ ।Maoist-Ballot
पछिल्लो मतपरिणाममा प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर ५ मा १६ र प्रदेश नम्बर ७ मा ४ तह माओवादीले जितेको छ । ७० को संविधानसभा निर्वाचनमा १ नम्बर प्रदेशका १४ जिल्लाका ४४ निर्वाचन क्षेत्रमध्ये उसले एक स्थानमा मात्र जितेको थियो ।
एमालेले २३, कांग्रेसले १७ क्षेत्रमा निर्वाचन जितेका थिए । त्यस्तै, प्रदेश नम्बर ५ का १२ जिल्लाका ४१ निर्वाचन क्षेत्रमध्ये माओवादीले ६ स्थानमा चुनाव जितेको थियो ।
यो प्रदेशभित्रका निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १७, एमालेले १३ स्थानमा जितेको थियो । प्रदेश नम्बर ७ का ९ जिल्लाका २१ निर्वाचन क्षेत्रमध्ये १ स्थानमा मात्र माओवादीले जितेको थियो । त्यहाँका ९ क्षेत्रमा कांग्रेस, ९ क्षेत्रमा एमाले र अन्य क्षेत्र अन्य पार्टीले जितेका थिए । पार्टी विभाजित अवस्थामा परिणाम आफ्नो पक्षमा नआएको निष्कर्ष निकालेको माओवादीले आफ्नो छवि सुध्रेको, शीर्ष नेतृत्व सबै ठाउँ पुगेको दाबीका साथ यसपटकको निर्वाचनमा कांग्रेस-एमाले सरहकै प्रतिस्पर्धी पार्टी बन्ने उद्घोष गरेको थियो ।
‘हाम्रो दाबी तेस्रो स्थानमै भए पनि कांग्रेस-एमालेकै प्रतिस्पर्धीका रूपमा आउने खालको थियो', माओवादी केन्द्रका हेडक्वार्टर सदस्य अग्निप्रसाद सापकोटाले भने, ‘तर अपेक्षित परिणाम आएन ।'
दोस्रो चरणमा निर्वाचन भएका कुल ३३४ स्थानीय तहमध्ये माओवादी केन्द्रले ३० स्थानीय तहमा तालमेल गरी निर्वाचन लडेको थियो । अधिकांश स्थानमा कांग्रेससँग तालमेल गरी निर्वाचन लड्दासम्म सहरमा माओवादीले जित्न सकेन । सहरमा पार्टीले नजित्नुमा सत्ता समीकरणका पक्षमा फैलाइएको भ्रम प्रमुख कारण ठान्छन्, माओवादी केन्द्रीय नेताहरू, अन्नपूर्ण पोस्टमा खबर छ ।
‘धेरै भ्रम थिए, हाम्राविरुद्ध । सत्ता समीकरण बदलिएपछि भ्रम फैलाइएका थिए । राष्ट्रियताको मुद्दा उचालिएको थियो, हामीले गर्न खोजेका काम रिजल्टमा आउने तर भ्रम चिर्न असफल हुनाले पनि सहरमा माओवादीले जितेन', माओवादी नेता सापकोटाले भने । तर, चुनावी विश्लेषक माओवादी नेताको त्यस्तो पुष्ट्याइँसँग सहमत देखिँदैनन् ।
माओवादीले संगठन मजबुत बनाउन, पार्टी एजेन्डा र आफूले सरकारमा रहँदा गरेका कामको व्यवस्थित प्रचार गर्न नसक्दा माओवादीले निर्वाचन जित्न नसकेको विश्लेषकको भनाइ छ । ‘माओवादीका लागि अहिलेको परिणाम अनौठो र आत्तिनुपर्ने खालको छैन', विश्लेषक तथा सांसद श्याम श्रेष्ठले भने, ‘संगठन मजबुत पार्न नसक्नु, एजेन्डालाई प्रचार गर्न नसक्नु, कमजोर बन्दै जाँदा पनि नेतृत्वले संगठन निर्माणमा ध्यान पुर्‍याउन नसक्नुले माओवादी निर्वाचन हारेको हो ।'

salt training

कमेन्ट गर्नुहोस्