
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने भएको छ ।
उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्त्वपूर्ण योगदान दिएका थिए ।
‘रामोन म्यागासेसे’ पुरस्कार समेत पाइसकेका उनले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्त्वपूर्ण योगदानबापत सम्मान अर्पण गर्न लागिएको हो ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पुनलाई सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
प्रदेशको सबैभन्दा ठूलो विभूषणका रूपमा ‘गण्डकी रत्न’लाई लिइन्छ । प्रदेश सरकारको स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा बुधवार उनलाई सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।
‘पुनले विज्ञान र प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै मन्त्रिपरिषद्ले उहाँलाई नै यस वर्षको गण्डकी रत्न दिने निर्णय गरेको हो,’ सरकारका प्रवक्ता खड्काले भने, ‘प्रत्येक वर्ष ३ जनालाई गण्डकी रत्नबाट विभूषित गर्ने भनिएको भए पनि यो पहिलो वर्षमा १ जनालाई मात्रै विभूषित गरिएको छ ।’
प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गत माघ ४ गते सूचना जारी गर्दै सम्मानको दाबी गर्नेहरूबाट आवेदनको आह्वान गरेको थियो । यसक्रममा भाषा, साहित्य, खेलकूद, पर्यटन, समाज सेवा, संस्कृति, उद्योग लगायतका क्षेत्रमा काम गर्दै आएका ८ जनाले आवेदन दिएका थिए । उनीहरू कास्कीका ३, स्याङ्जा र तनहुँका २/२ तथा लमजुङका १ जना थिए ।
‘गण्डकी रत्न’ पाउने व्यक्तित्वलाई गण्डकी प्रदेशमा आयोजना हुने सभा समारोहमा प्रदेशसभा सदस्य सरहको मान्यता र सुविधा दिने व्यवस्था छ ।