
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले कर्जामा ब्याज घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।
बिहीवार राष्ट्र बैंकलाई पत्राचार गर्दै यस्तो माग गरेको हो ।
हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको छ ।
नाडाले भने यस्तो व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढ्न गई उपभोक्ताहरुलाई समेत असर पर्ने बताएको छ ।
नाडाले न्युनतम मार्जिनको व्यवस्था पुरानो अनुसार नै कायम गर्ने व्यवस्थाका लागि राष्ट्र बैंकसँग माग गरेको छ ।
नाडाले भनेको छ,‘यदी उक्त व्यवस्था तत्काल परिमार्जन गर्न संभव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंङ्क तथा वित्तिय संस्थाहरुले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंङ्कबाट निर्देशन जारी गर्न माग गरिएको छ ।’
साथै हालै नेपालका बैङ्क तथा वित्तिय निकायहरुले निक्षेपको व्याजदर बढाउने निर्णय गरेका छन् ।
निक्षेपको व्याजदर बढेसंगै बैंङ्क तथा वित्तिय निकायहरुले स्वभाविक रुपमा कर्जाको व्याजदर पनि बढाउने भन्दै नाडाले यसमा पुर्नविचार गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।
वित्तीय निकायहरुले ब्याजदर बढाउदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने नाडाको भनाइ छ ।