२७ असार २०८३, शनिबार

स्थानीय चुनाव प्रयोजनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत, दल दर्ता शुरू

स्थानीय चुनाव प्रयोजनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत, दल दर्ता शुरू

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि बिहीवारदेखि दल दर्ता शुरू गरेको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि बिहीवार आयोगमा ३ वटा राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । 
 
राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ३ वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ ।
 
आयोगमा बिहीवार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको जानकारी दिए । 

यसअघि दर्ता भएका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेभित्र आयोगमा दर्ता गर्न बिहीवार सूचना प्रकाशन गरिएको छ ।
 
आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । सम्बन्धित पालिकामा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको उनले बताए ।

मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी ‘ई–बिडिङ’को माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको तथा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेशन स्वीकृत गरिएको आयोगले जनाएको छ ।
 
जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्याय परिषद्सँग परामर्श गरी तथा न्याय सेवाका राजपत्रांकित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्ने प्रयोजनका लागि न्याय सेवा आयोगसँग परामर्श गरी फागुन १५ सम्ममा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।
 
निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको नामावली उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिएको उनले बताए ।
 
स्थानीय तह आर्थिक कार्यविधि २०७८ तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीत सन्देशमूलक सन्देश, संवादमूलक सन्देश, लघुकथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशन गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । आयोगले उत्कृष्ट सिर्जनालाई पुरस्कृत गर्ने घोषणा समेत गरेको छ ।
 
स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायता प्राप्तिका लागि बुधबार विकास साझेदार समन्वय बैठक सम्पन्न भएको उनले जानकारी दिए । बैठकमा नेपालस्थित विभिन्न २० कूटनीतिक नियोग एवं विकास साझेदारका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको आयोगले जनाएको छ ।
 
आयोगले ‘निर्वाचनमा सबै, सधैं, सँगै’ नाराका साथ यही फागुन ६, ७ र ८ गतेसम्म आयोजना हुने छैटौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन सबैमा अनुरोधसमेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्