
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन सो पार्टीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । राजीनामा नगराए आफूले बर्खास्त गर्नेसम्मको अप्रिय कदम चाल्ने देउवाले चेतावनी दिएका छन् ।
सत्ता गठबन्धनको बैठकअघि प्रचण्डसँग एक्लाएक्लै भेट गरेका देउवाले प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन आग्रह गरेका हुन् । ‘तपाईँले अहिलेसम्म पार्टीका मन्त्रीहरुलाई किन राजीनामा गर्न नलगाउनु भएको ? देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा गराउनु भएन भने बर्खास्तसम्मको अप्रिय कदम चाल्छु ।’
माओवादीले एमसीसी टेबल गर्न असहयोग गरेपछि देउवा आक्रोशित बन्द प्रचण्डलाई यस्तो बताएका हुन् ।
सो पछि बसेको गठबन्धन बैठक भनाभनमै सकिएको नेताहरुको भनाइ छ । बैठकमा गठबन्धनमा रहेका काँग्रेस बाहेकका दलहरुले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने धारणा राखेका थिए । तर देउवाले भने एमसीसी भोलि नै संसदमा टेबल गर्ने बताएका थिए ।
यसैबीच एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका छन् । बिहीबार राति देउवा बालकोट पुगेका हुन् ।