
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेकाहरू बाटो भत्काएर क्रान्तिकारी हुन खोजेको भन्दै एमसीसीको विरोधमा सडकमा निस्किएकाहरूको आलोचना गरेका छन् ।
चन्द्रागिरि नगरपालिकास्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कवि गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले जेल बसेर, कुटाइ खाएर प्रजातन्त्र ल्याउने अनि बाटो भत्काएर क्रान्तिकारी हुने ?’
सरकारमा रहेका दलहरूले एकतातिर एमसीसी संसदमा टेबुल गर्ने सहमति गरेको र कार्यकर्तालाई प्रदर्शनमा उतारेर दोहोरो चरित्र देखाएको भन्दै ओलीले आलोचना गरेका छन् ।
‘आफू चाहिँ एमसीसी संसदमा लैजाने सहमति गर्ने अनि कोहीलाई सडकमा प्रदर्शन गर्न पठाउने, संसदमा आफू थपक्क बसेर वरिपरिकालाई उठ्न लगाउने ?,’ ओलीले भने ।
एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरीलाई अधिकार नदिएको कारण प्रदर्शनकारीबाट प्रहरी कुटिएकोमा पनि ओलीले सरकारको आलोचना गरेका थिए ।