
उपराष्ट्रपति नन्दबहादुर पुनले विविध सांस्कृतिक पहिचानका रूपमा रहेका विभिन्न जातजातिका मातृभाषा लोप भए नेपालको मौलिक सांस्कृतिक पहिचान मेटिने भएकाले संरक्षणमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सोमवार राजधानीमा आयोजना गरेको मातृभाषा राष्ट्रि«य कविता महोत्सव २०७८ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भावी सन्ततिका लागि भाषा र संस्कृति संरक्षण एवं संवद्र्धन गर्नुपर्ने बताए ।
‘विद्यालय तहमा मातृभाषामा पठनपाठन गराउन स्थानीय सरकारले काम गर्नुपर्छ, नेपालमा बोलिने मातृभाषामध्ये झण्डै ४० प्रतिशत लोपोन्मुख अवस्थामा पुग्नु दुःखदायी हो, १ दशकअघि मातृभाषामा संवाद गर्ने गरेकामा अहिले अंग्रेजी प्राथमिकतामा पर्दा लोप हुन लागेको छ, अंग्रेजीमै शिक्षा र ज्ञान राम्रो हुन्छ भन्ने भानले पनि मातृभाषा संरक्षणमा अप्ठ्यारो भएको छ,’ उपराष्ट्रपति पुनले भने ।
प्रतिष्ठानले कविता महोत्सव गरेजस्तै मातृभाषामा साहित्यका अन्य विधामा पनि गतिविधि अघि बढाउन उनले सुझाव दिए । मातृभाषालाई स्थानीय सरकारका कामकाजका भाषाका रूपमा पनि स्थापित गर्नुपर्ने भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ नगर्न नहुनेमा उपराष्ट्रपति पुनको जोड थियो ।
प्रतिष्ठानका संरक्षक समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषा र संस्कृति नै राष्ट्रको मौलिक पहिचान भएकाले यसको संरक्षणका लागि सरकारले काम गर्ने प्रतिबद्धता जनाए । कविता महोत्सवले मातृभाषामा साहित्य सिर्जना गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले संकटापन्न मातृभाषाको संरक्षणकै लागि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको बताए ।
प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका लागि मन्त्रालयले आवश्यक बजेट विनियोेजन गर्ने मन्त्री आलेको वाचा थियो ।
‘मन्त्रालय अन्तर्गतका विकृति, विसंगति हटाउन लागिपरेको छु, बतास कम्पनी र विभिन्न पाँचतारे होटलले कर नतिरेकाले तिर्ने सुनिश्चित गराएको छु, विगत सरकारका फोहोरको डंगुर हटाउन लागिपरेकाले मलाई उत्तेजित बनाउने गरी सम्पादन गरिएको अडियो सार्वजनिक गरेर बदनाम गर्न खोजिँदैछ, तर म देश ठग्नेलाई ठेगान लगाउन छाड्दिनँ,’ उनले भने ।