
एमसीसी अनुमोदन गर्ने कि नगर्ने विषयमा सत्ता गठबन्धन दलबीच रस्साकस्सी चल्न थालेको छ।
यससँगै गठबन्धन कसरी जोगाउने भनेर शीर्ष नेताहरू दौडधुपमा लागेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ बालुवाटारमा भेट भएको छ । माओवादीमा सोमबारै बनेको धारणाबारे जानकारी गराउन दाहाल बालुवाटार पुगेको स्रोतले बताएको छ।
दाहालले भनेका थिए, 'पार्टीका साथीहरू सरकारबाट निस्किने तर एमसीसी पास गर्न नलाग्ने भन्नेमा हुनुहुन्छ । गठबन्धनका विषयमा मेरो धारणा अडिग छ। गठबन्धन टुट्दैन। एमसीसीलाई संसद् मा मज्जाले छलफल गर्न दिनुपर्ला ।'
त्यसअघि दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेट भएको थियो। दाहालले पौडेलसँगको भेटबारे भने, 'रामचन्द्रजीले एमसीसी पनि पास गरौं । गठबन्धन पनि जोगाऔँ भन्ने धारणा अगाडि सार्नुभयो। मैले गठबन्धन पनि रहन्छ एमसीसी पनि प्रक्रियाबाटै टुङ्गिन्छ भने।'
नेता पौडेल सोमबार दिनभर गठबन्धनकै शीर्ष नेताहरूसँगको भेटमा व्यस्त रहे।
त्यसबारे पौडेलले भने, 'मैले साथीहरूलाई गठबन्धन पनि नछोडौं। हामी कठिन परिस्थितिमा एकजुट भएका हौं। चुनावसम्म सँगै जाऔं। एमसीसी पनि अब सडकबाट सदनमा पुगेको छ। हाम्रो यो पुस्ताने असफल पुस्तामा परिणत हुन लाग्यो । यसै सन्दर्भमा मैले केपी ओलीजीलाई पनि केही दिनअघि भेटेके हो। अहिले पनि हिजो संसद्मा एमसीसी टेबल हुनु केही बेरअघि गठबन्धनका सबै पाँच दलका साथीहरूसँग भेटेको हुँ।'
दाहालले एमसीसीका विषयमा पनि प्रक्रियाबाट भनेको पौडेलले सुनाए।
'प्रक्रियाबाट गरौं भन्नुभएको छ । गठबन्धन टुट्दैन यो गठबन्धन चुनावसम्मै सँगै जान्छ भन्नुभयो। यो विषय सडकबाट संसद्मा गएको छ। तपाईंहरू संवेदनशील बनिदिनुहोस् भन्नुभयो', उनले भने।
प्रधानमन्त्री आइतबारदेखि नै एमसीसी अनुमोदन गराउन भेटघाटमा व्यस्त रहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
'ओलीजीले संसद्मा पुर्याउन सक्नुभएन। हामीले संसद्मा पुर्याएका छौं। सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। उहाँले आफैले दर्ता गरेको विधेयकमा सहयोग गर्नुहोला', प्रवक्ता डा. महतले भने, 'गठबन्धनका साथीहरू एमसीसी पास गर्नेमा मत हाले गठबन्धनमा बस्नुहुन्छ। नत्र निस्कनुहुन्छ। ठूलो कुरा छैन। द्वैध चरित्र गठबन्धनमा बसेर देखाउनुभएन भन्नेमा कांग्रेस प्रष्ट छ।'
अमरिकी अनुदान परियोजना सम्झौता सहमतिमै प्रतिनिधिसभामा पेस गरिएको डा. महतले बताए । अन्नपूर्ण पोस्टमा राधा खनालले खबर लेखेकी छन् ।