
भारत राजस्थानका ५० वर्षीय रामकिसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमjfर प्रहरीले पक्राउ गरेको छ ।
बिकले मिणालाई लेनदेनको विषयमा विवाद हुँदा हत्या गरी उदयपुरको श्रृष्टी जंगलमा फालेको खुलेपछि इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मोरङ कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाबीचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मशिनको काम गर्दै आएका मिणा गत माघ २६ गतेदेखि सम्पर्कमा नरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा फागुन ७ गते उक्त जंगलमा उनको शव फेला परेको थियो ।
पुलको ठेक्कापट्टा गर्ने बिक र मृतक मिणाबीच पुलको पिलरको जग खन्ने मशिन ल्याई काम गर्ने भनी सम्झौता भएअनुसार विगत डेढ महिनादेखि डास खोलामा काम गर्दै आइरहेका थिए ।
माघ २३ गते विकको वीरगंजस्थित अर्को साइट हेर्न भनी बीआर ०१ बीसी ५६९७ नम्बरको गाडीमा दुवै जना वीरगञ्ज गएका थिए । प्रहरीका अनुसार माघ २५ मा फर्किएर बिकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेनसम्बन्धी विवाद भएको थियो ।
मादक पदार्थ सेवन गरेका बिकले विवादको क्रममा मिणाको घाँटीमा केबल तारले कसेर हत्या गरेको र शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारीबाट ३० किलोमिटर माथि जंगलमा लगेर फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
साथै बिकले मृतकको मोबाइल कोशी नदीमा फाली गाडी भारतीय बजार भीमनगर लगेर बेवारिसे अवस्थामा छोडेर फर्किएको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
बिकलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटारी उदयपुर पठाइएको छ ।