
प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण अन्य प्रदेशको तुलनामा ढिला भएको बताएका छन् ।
मुख्यमन्त्री राईले मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा मंगलवार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको शुभारम्भ गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए पनि अहिलेसम्म नाम टुंग्याउन नसकेकामा लाज लागेको विचार राखे ।
मुख्यमन्त्री राईले सरकारको कार्यकाल अत्यन्त छोटो रहेको र प्रदेश सभाको २ वटा अधिवेशन मात्र बाँकी रहेकाले समय थोरै रहेकाले आमजनताको माग, सवाल र चाहना एवं कामको सिलसिलामा पनि अप्ठ्यारा रहेकाले नामलाई चाँडै सहमति कायम गरी टुंग्याउनुपर्नेमा जोड दिए ।
उनले स्वतन्त्ररूपमा पार्टीको धारणा आउने भएकाले मंगलवार छलफलको आयोजना गर्नुपरेको भन्दै प्रदेशसभा सदस्यहरूले नामका सम्बन्धमा पार्टीको विचारअनुसार धारणा राख्ने बताए । मुख्यमन्त्री राईले मुलुकको विभिन्न राजनीतिक परिवर्तनको घटना क्रममा प्रदेशको ठूलो भूमिका रहेको छ भन्दै विवादहीन र अन्योल हटाई नामकरणमा एकजुट हुन सबैलाई आग्रह गरे ।
उनले गम्भीरता एवं जिम्मेवारपूर्वक नाममा टुंग्याउनुपर्नेमा जोड दिँदै पहिचान, भूगोलको पहिचान र मिश्रित पहिचानका सम्बन्धमा तीन नामका विषयमा अन्त्यन्त ललिचो भएर सहमतिका आधारमा दलहरुले आफ्नो दायित्व ठानेर छलफल गरी नाम टुंग्याउनुपर्ने बताए ।
उनले बहुदलीय व्यवस्थाको मूल मर्म भनेको सहकार्य एवं आवश्यक लचकता भएको चर्चा गर्दै दलहरूले आवश्यकता परेमा संयन्त्र गठन गरी नियमित छलफल गरी नाममा सहमति कायम गर्न सबै दललाई आग्रह गरेका छन् ।