
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने विषयलाई लिएर सत्ता गठबन्धन संकटमा परेको बेला नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुबीच छलफल भएको हो ।
देउवासँगको छलफलका लागि अध्यक्ष ओली मंगलवार साँझ बालुवाटार पुगेका हुन् । ओली र देउवाबीचको छलफल भएको केही समयमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि बालुवाटार पुगेका छन् ।
एमसीसी अनुमोदनको विषयलाई लिएर गठबन्धनमा समस्या उत्पन्न भएको बेला कांग्रेस र एमालेका शीर्ष नेताहरुको छलफललाई चासोका साथ हेरिएको छ । यसअघि फागुन ५ गते देउवा ओलीको निवासमा पुगेका थिए ।
सरकारले आइतवार संसदमा पेश गरेको एमसीसी सम्झौतामाथि फागुन १२ देखि प्रतिनिधि सभामा छलफल शुरु हुँदैछ । देउवाले एमसीसी अनुमोदनमा समर्थन गर्न एमालेसँग आग्रह गर्दै आएका छन् ।