
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयास आवश्यक हुने बताएकी छन् । पोखरा महानगरपालिका–९ बसपार्कस्थित सहारा आधारभूत विद्यालयको नवनिर्मित पक्की भवनको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयमा राज्यको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताइन् ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा सम्पन्न भए पनि शैक्षिक गुणस्तर कायम हुननसकेको उल्लेख गर्दै उपसभामुख शर्माले यसका लागि राज्यका तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइको रु ७७ लाख १० हजारको लागतमा दुईतले चारकोठे भवन निर्माण सम्पन्न गरिएको हो । विद्यालयमा हाल २६१ जना छात्रछात्रा अध्ययनरत छन् ।
कार्यक्रममा शिक्षा निर्देशक घनश्याम पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न सबैपक्षको साथ र सहयोग आवश्यक पर्ने बताए । गैसस महासङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले श्रमजीवी वर्गका बालबालिकाको अध्ययनको थलोका रूपमा परिचित सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा महाशाखा एवं डायल नेपालद्वारा व्यवस्था गरिएको दिवाखाजा कार्यक्रमले विद्यार्थीको सङ्ख्या वृद्धि गर्न सहयोगी बनेको बताए ।
विद्यालयको भौतिक एवं शैक्षिक क्षेत्रमा सहयोग गर्नुहुने नन्दराम गिरी, पूर्णबहादुर गुरुङ, गैससका केन्द्रीय अध्यक्ष सुवेदी, विक्रम थकाली, केशवबहादुर थापा, निर्माण व्यवसायी लीलकाजी गुरुङ, रुपा केसी, दुर्गाबहादुर गुरुङ, पूर्णकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अधिकारी, प्रेमबहादुर गुरुङ, सुरज परियार र रामप्रसाद पौडेललाई कदरपत्रले सम्मान गरिएको थियो ।