
यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामा मंगलबार राति साथीभाइसंगको मिटिङ सकेर भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्म त पुगे, तर भित्र छिर्न पाएनन्।
घरभित्र पस्नुअघि नै गाडीमै उनको निधन भयो।
उनका माइला भाइका अनुसार मंगलबार राति जयनन्दको पत्नी घरमा थिइनन्।
बुधबार बिहान करिब सात बजेतिर स्थानीय बासिन्दाले उनलाई आधा शरीर गाडीभित्र र आधा शरीर बाहिर रहेको मृत अवस्थामा देखेका थिए।
साथीभाइसँग बौद्धस्थित एक रेस्टुराँमा बसेर हँसिमजाकका साथ खानपिन गरी फर्केका उनी आफै कार हाँकेर फर्केका थिए भने उनको खुट्टा ब्रेकमा अल्झेको र गाडी पार्किङ गरेको सँगैको पखालमा टाउको ठोक्किई रगताम्मे भएको र घोप्टो अवस्थामा भेटिएका थिए।
मोटो ज्यानका उनलाई एक तामाङ फिल्मको सुटिङका क्रममा दुर्घटना भई खुट्टा भाँचिएपछि हिंड्न समस्या हुन थालेको थियो।
खुट्टाकै समस्याका कारण उनी कतिपय फिल्ममा लागि नृत्य गर्नसमेत असमर्थ भएका थिए।
बहुमुखी प्रतिभाका धनी लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहीबार बिहान १० देखि १२ बजेसम्म जमलस्थित राष्ट्रिय नाचघरमा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ। लामाको परिवारमा पत्नी र दुई छोरा छन्।
पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले संगीत क्षेत्रमा देखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशकयता गीत गाउन करिबकरिब छोडेका थिए।
दुई दशक लामो अन्तरालपछि केही अघि मात्र एउटा मौलिक लोकगीत रेकर्ड गराई भिडियोका साथ सार्वजनिक गरेका सिन्धुपाल्चोकको थापाका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् भने फिल्म निर्माण, निर्देशन र अभिनय पनि गर्दै आएका थिए।
२०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हैलम्बु डॉडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काईयो केश मेरो बाँगो, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरूँ, चई चुई चुईकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजल काबैमा मादलुजस्ता दर्जनौं गीत चर्चित छन् । नेपाल समाचारपत्रमा विदुर गिरीले खबर लेखेका छन् ।