कञ्चनपुर शुक्लाफाँटा-१२ तिल्कीपट्टीका राजेन्द्र चौधरी सात वर्षअघि १९ वर्षकै उमेरमा मलेसिया गएका थिए।
उनको उतै माघ १६ गते सवारी दुर्घटनामा निधन भयो। सरकारले राजेन्द्रको शव बुधबार ल्याइदिएको छ।
'घरको आर्थिक अवस्था मजबुत बनाउँछु भनेर छोरो विदेश गएको थियो। यसरी बाकसमा पो आयो। यसको क्षतिपूर्ति सरकारले देओस्', त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोराको शव भएको बाकस उठाउँदै चिप्पु चौधरीले भने, 'हामी गरिबको जीवनको कुनै टुंगो नहुने रहेछ। जहाँ गए पनि दुःखै दु:ख।
गोरखा गण्डकी गाउँपालिकाका अनिल गुरुङ एक दशकअघि मलेसिया गएका थिए। डेढ महिनाअघि उतै निधन भयो। तर, कम्पनीबाट भागेर अन्तै काम गरेका कारण शव ल्याउन समय लागेको आफन्त टकबहादुर गुरुङले बताए।
त्यसका लागि परराष्ट्र मन्त्रालयलाई हारगुहार गर्नुपरेको थियो। टकबहादुर बुधबार दिउँसो अनिलको शव बुझ्न विमानस्थल पुगेका थिए।
यी दुई जनासहित मलेसियामा विभिन्न कारणले निधन भएका ९ जनाको शव बुधबार ल्याइएको छ। अन्य मृतकमा रामकुमार प्रजा, यमबहादुर कार्की, छोटन पासवान, बुद्धिराम खत्री, अकबर मियाँ, केन्द्रा राई, भीमबहादुर तामाङ छन्। कतारबाट एक जनाको शव नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक कर्मचारीले बताए।
वैदेशिक रोजगार बोर्डले यीमध्ये आठ जनाको मात्रै तथ्यांक राखेको छ। दुई जनाको श्रम स्वीकृतिको अवधि सकिएको पाइएको बोर्डका अधिकारी बताउँछन्। अवैधानिक भएका श्रमिकको रेकर्ड बोर्डले राख्दैन। यस्ता व्यक्तिका परिवारले बोर्डबाट आर्थिक सहायता पाउँदैनन्। अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले खबर लेखेकी छन् ।