
भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अन्तिम तयारी भइरहँदा रुपन्देहीमा पर्यटक लक्षित ठूला र स्तरीय होटलमा लगानी बढ्न थालेको छ ।
विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको आवागमन पनि बढ्ने अपेक्षामा यहाँका व्यवसायीले स्तरीय होटल तथा रेष्टुराँमा लगानी बढाएका हुन् ।
होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमका अनुसार अहिले रुपन्देहीका होटलको दैनिक क्षमता १५ हजारभन्दा बढी छ ।
सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार भैरहवामा एक रातमा चार हजार बढी पाहुनालाई स्तरीय होटलमा राख्न सकिन्छ ।
त्यस्तै, लुम्बिनीमा एक रातमा पाँच हजार पर्यटकलाई राख्न सकिने सिद्धार्थ होटल एसोसिएसन लुम्बिनी शाखा अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन् । गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले खबर लेखेका छन् ।