
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफैं सरकारमा प्रधानमन्त्री र मन्त्री छँदा अघि बढाएको एमसीसीविरुद्ध केही उच्च कमरेडहरू नलजाई उभिएका आरोप लगाएका छन् ।
एमसीसीबारे प्रतिनिधिसभा बैठकमा छलफल हुनुअघि बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री शर्माले मार्क्सवाद र माओवादमाथि व्यंग्य गरेका छन् ।
शर्माले लेखेका छन्, ‘मार्क्सवाद र माओवादको पुस्तकले ‘नैतिकता’ सिकाउँदैन भनौं, अलि गैरजिम्मेवार टिप्पणी हुन्छ । सिकाउँछ भनौं आफैं सरकारमा प्रधानमन्त्री र मन्त्री छँदा अघि बढाएको एमसीसीविरुद्ध केही उच्च कमरेडहरू कि नलजाई उभिनुभएको छ कि मौन–ध्यान मुद्रामा बस्नुभएको छ ! लज्जा स्वयं लज्जित दृश्य हो यो !’
कुनै पनि देशको सैन्य रणनीतिको हिस्सा नेपाल कहिल्यै पनि बन्न नहुने समेत शर्माले स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘कुनै पनि देशको सैन्य रणनीतिको हिस्सा नेपाल बन्नुहुन्न । अमेरिका–चीन ‘टग अफ वार’मा नेपाल एकको ‘रस्सी’ समाउन पछि उभिनुहुन्न । एउटा मित्रको ऋण लिन तयार अर्कोको अनुदान अस्वीकार गर्नैहुन्न ! शर्त केवल यत्ति कुनै पनि देशको सैन्य रणनीतिको हिस्सा नेपाल कहिल्यै पनि बन्नुहुन्न !’