डोटी, २० असार– असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित भएकी मञ्जु मलासीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
७ नम्बर प्रदेशमै एकमात्र स्थानीय तहको प्रमुखमा निर्वाचित भएकी प्रमुख मलासीले दीपायल सिलगढी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरिन् । ‘यो नगर नमुना नगरपालिका बन्नेछ,’ मञ्जुले भनिन् । दीपायल सिलगढी नगरपालिकामा सबै दल, नागरिक र समुदायलाई मिलाएर लैजाने प्रमुख मलासीले प्रतिबद्धता व्यक्त गरे ।
आफूले महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने मलासीले बताइन् । ‘म, कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति हुँ, समग्र नगरकोे विकास हुन्छ,’ उनले भनिन् ।
दीपायल सिलगढी नगरपालिकाका प्रमुख मात्र होइन शिखर नगरपालिका प्रमुख सीताराम जोशीले पनि नमुना नगरपालिका बनाउने घोषणा गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै जोशीले पनि उक्त प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
दुवै प्रमुखले नमुना नगरको योजनाबारे कुनै जानकारी नदिए पनि डोटीका दुवै नगरपालिकाबाट निर्वाचित उनीहरुले शपथ ग्रहणकै दिनमा नमुना नगरपालिका बनाउने प्रतिबद्धता नागरिक समक्ष व्यक्त गरेका छन् ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित दीपायल सिलगढी नगरपालिका प्रमुख तथा उपप्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डोटीको सबैभन्दा पुरानो नगरपालिकामा निर्वाचित प्रमुख मञ्जु मलासी र उपप्रमुख शिवराज खड्कालाई मुख्य निर्वाचित अधिकृत नरनारायण पौड्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
दीपायल सिलगढी नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका नौवटा वडाबाट निर्वाचित वडा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।
दीपायल सिलगढी नगरपालिकाका विभिन्न वडाबाट निर्वाचित सदस्यलाई नवनिर्वाचित मञ्जु मलासीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । निर्वाचित सबै पदाधिकारीले ईश्वर, देश र जनताका नाममा शपथ ग्रहण गरेका छन् ।
डोटी शिखर नगरपालिकामा पनि सोमबारै पद तथा गोपनीयताको शपथ ग्रहण गरिएको छ । नवनिर्वाचित प्रमुख सीताराम जोशी र उपप्रमुख धौलीदेवी रावलले पद तथा गोपनीयताको शपद ग्रहण गरेका हुन् ।
शिखर नगरपालिकाका निर्वाचन अधिकृत दमननाथ विष्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नगरपालिकाका सबै वडाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।