
मोरङको लेटाङ नगरपालिका–८, लालहिरा सामुदायिक वनमा गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।
बुधवारदेखि हराएकी लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो भित्र वस्त्रविहीन अवस्थामा भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
उनका अनुसार प्रहरीले शव उत्खनन गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको छ ।
विद्यालयबाट घर फर्किने क्रममा बुधवार दिउँसोदेखि बालिका बेपत्ता भएकी थिइन् ।
बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको मोरङ प्रहरीले जनाएको छ ।
बालिका मृत भेटिएपछि दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।