
पर्वतको कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमूलक पूर्वाधार निर्माणको कार्यक्रम शुरू गरिने भएको छ ।
नगरपालिकाको आवश्यकता अनुसारको विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न तथा आयआर्जनसम्बन्धी पूर्वाधारमूलक कार्यक्रम सञ्चालनका लागि सघन शहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।
सघन शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबीच कार्यविधिमा शुक्रवार हस्ताक्षर भएको छ ।
नगर प्रमुख जोशीले कुश्मा नगरपालिकाभित्रका सबै वडाका कच्ची सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको बताए । नाली निर्माणदेखि आयआर्जनमूलक उद्यम विकासमा पनि कार्यक्रमले सहयोग गर्ने उनले जानकारी दिए ।
सबै वडामा एउटा न एउटा योजना पर्ने गरी कार्यक्रम तर्जुमा गरिने जोशीले जानकारी दिएका छन् ।
केही योजना संकलन भइसकेको र योजना संकलनको काम भइरहेकाले नगरपालिकाले विस्तृत योजना बनाएपछि योजनाको विस्तृत अध्ययन हुने र तत्पश्चात् कामको शुरूआत हुने नगर प्रमुख जोशीले बताए ।
नगर उपप्रमुख सीता काफ्ले लामिछानेले शहरोन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने बताए । आफूहरू निर्वाचित भएपछि नगरपालिकाको समग्र विकासमा ध्यान दिँदादिँदै बजेटको अभावमा कतिपय योजना अधुरा रहेको अवस्थामा यो कार्यक्रमले पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान गर्ने उल्लेख गरेका थिए ।
कुश्मा नगरपालिकामा कार्यक्रम सञ्चालनका लागि ५० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ । चालू वर्ष योजना शुरू भए पनि अधिकांश योजना बहुवर्षे कार्यक्रममा समावेश हुने जनाइएको छ । कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे शुक्रवार नगरपालिकामा छलफल भएको थियो ।
कुश्मामा बसपार्क निर्माणका लागि सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजना अगाडि बढाउन नगरपालिकाले सिफारिस गरेको छ । सिटीहल सहितको बसपार्क निर्माण गर्ने गुरुयोजना भए पनि चालू वर्ष १० करोड रुपैयाँ मात्र बजेट प्राप्त भएकाले कामको शुरूआत गर्न कार्यालयलाई नगरपालिकाले सिफारिस गरेको हो ।
सिटीहलसहित बसपार्क निर्माण गर्न ७५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । बहुवर्षे योजनामा समावेश भएको सिटीहलसहित बसपार्क निर्माण गर्ने भन्दै कुश्मा नगरपालिकाले गौरवको योजनाको रूपमा अगाडि सारेको छ ।