
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफू अनुकूलको प्रधानन्यायाधीशमार्फत सेटिङ गरेर एमालेविरुद्ध आक्रमण गर्न गठबन्धनले प्रधानन्यायधीशविरुद्ध महाभियोग ल्याएको दाबी गरेका छन् ।
शनिवार एमाले निकट कानून व्यवसायीहरूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘एमालेविरुद्ध ल्याइएको महाभियोग हो । एमाले एमालेविरुद्धको आक्रमण हो । हामीले गरेको नियुक्ति सोत्तर पार्ने रणनीतिअन्तर्गत आएको हो ।’
ओलीले एमालेविरुद्ध कसैले फुर्ती नलगाउन भन्दै चेतावनीसमेत दिएका छन् । उनले भने, ‘हामी पानीमै छौं । डुंगामा बसेर धेरै फुर्ती नलगाउनुहोस् । यात्रा उलटफेर हुन सक्छ ।’
क्रिकेटमा छक्का हान्दा बल दर्शकदीर्घामा पुगेजस्तो महाभियोगलाई जनताको बीचमा पुर्याइदिने चेतावनी पनि ओलीले दिएका छन् ।
‘हामीले भनेकै प्रधानन्यायाधीश चाहिन्छ भनेर सेटिङ गर्ने ? अदालतमा व्यापक ट्रिमेन्ट चाहिएको छ । सबैको खुट्टा मर्किएको छ । तर, एउटाको खुट्टामा मलम लगाएर सबैको खुट्टा कसरी ठीक हुन्छ ?,’ ओलीले भने ।
एकजना प्रधानन्यायाधीशलाई महाभियोग लगाएर अदालतमा देखिएको विकृति सुधार नहुने ओलीले बताए । ‘सुधार नै गर्ने हो भने प्रधानन्यायाधीश २० प्रतिशत मात्रै हो । अरू ८० प्रतिशत सुधारका कुरा पनि ल्याउनुहोस् अनि विचार गरौँला,’ ओलीले भने ।
नेपाल बार एशोसिएसनले प्रचण्ड र माधव नेपालको मात्रै प्रतिनिधित्व गरेको समेत ओलीले आरोप लगाए ।
‘आँखामा फुलो परेको मान्छे संस्थाको नेतृत्वमा नबस्नुहोस्, फुलो परेको छ भने आँखाको अप्रेशन गरेर आउनुहोस्,’ ओलीले भने ।
आगामी वैशाख ३० को निर्वाचनबाट एमालेले स्थानीय तहमा जवाफ दिने र त्यसपछिका निर्वाचनबाट सबैलाई जवाफ दिने ओलीले बताए ।