
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नटुट्ने र सहमतिमै एमसीसी अघि बढ्ने बताएका छन् ।
सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेर बाहिरिने क्रममा प्रचण्डले एमसीसीकै कारण गठबन्धन नटुट्ने बताएका हुन् ।
दुवै पार्टी एमसीसी अनुमोदनमा कांग्रेसलाई सघाउन तयार भएका छन् । फागुन ८ गते संसदमा पेश भएको एमसीसी अनुमोदनका लागि गठबन्धनमा रहेका दलले साथ नदिने देखेपछि कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद अघि बढाएको छ ।
सिंहदरबारमा नेपालसँग छलफल गरेर बाहिरिने क्रममा प्रचण्डले भने, ‘समस्याको समाधान हुन्छ । गठबन्धन फुट्दैन । एमसीसी सहमतिमा अघि बढ्छ ।’
एमसीसीको सम्बन्धमा संसदबाट व्याख्यात्मक संकल्प प्रस्ताव पारित गरेर एमसीसी अनुमोदनमा सघाउने तयारी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले गरेका छन् ।
गठबन्धन फुट्ने निश्चितजस्तै भएपछि दुई पार्टी एमसीसीको पक्षमा खुल्न बाध्य हुने अवस्थामा आएका छन् ।