२० असार २०८३, शनिबार

रूस–युक्रेन युद्ध प्रभाव : कच्चा पदार्थ र खाद्यान्न आपूर्तिमा समस्या

फागुन १५, २०७८
रूस–युक्रेन युद्ध प्रभाव : कच्चा पदार्थ र खाद्यान्न आपूर्तिमा समस्या

रूस–युक्रेन युद्ध शुरू भएलगत्तै नेपालका लागि आउने खानेतेल र पशुपन्छीको दानाको कच्चा पदार्थ र खाद्यान्नलगायत आपूर्तिमा समस्या देखिएको छ ।

युक्रेनबाट आउने सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेलको कन्साइन्मेन्ट रद्द भएको आयातकर्ताले बताएका छन् । रूस र युक्रेनबीच तनाव बढेसँगै यस्ता वस्तुको सिपमेन्टमा ढिलाइ भइरहेकोमा युद्ध शुरू भएपछि सिपमेन्ट हुन छोडेको वीरगञ्जस्थित नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।

नेपालका एक दर्जभन्दा बढी तेल खानेतेल उत्पादकले युक्रेनबाट कच्च पदार्थ ल्याउँछन् । युक्रेनमा गत बुधवार रूसले आक्रमण गरेपछि नेपालका लागि आउन तयारी अवस्थामा रहेको कच्चा पदार्थ समुद्री बन्दरगाहमा रोकिएको छ ।

युद्धले असामान्य स्थिति बनेको भन्दै सिपरले धमाधम अर्डर रद्द गर्न थालेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले जानकारी दिए । ‘कच्चा पदार्थ बोकेर आउन तयारी अवस्थामा रहेका पानीजहाज युद्ध शुरू भएपछि बन्दरगाहमै रोकिए । अवस्था कहिले सामान्य हुन्छ टुंगो नभएकाले अन्योल बढेको छ,’ रुंगटाले भने । नेपालका तेल उत्पादकले आयात गर्ने अर्धप्रशोधित सूर्यमुखी र भटमासको तेलको ८० प्रतिशतभन्दा बढी परिमाण युक्रेनबाटै आपूर्ति हुँदै आएको छ । तोरीको अधिकांश परिमाण त्यही देशबाट आउँछ ।

युक्रेनको तोरीको गुणस्तर अन्य देशको तुलनामा राम्रो हुने भएकाले अधिकांश परिमाण त्यहीँबाट आयात हुने चाचानले जानकारी दिए ।

अधिकांश उद्योगमा १० देखि १५ दिनसम्मको कच्चा पदार्थ स्टक हुने भएकाले यस्ता वस्तुको आपूर्तिमा तत्कालै समस्या नदेखिने दाबी रुंगटाको छ । ‘उद्योगमा १/२ दिनको स्टक हुन्छ । कोलकाता बन्दरगाहको स्टकले थप १०/१२ दिनजति धान्ला । त्यसपछि आपूर्तिमा समस्या आउन सक्छ,’ उनले आर्थिक अभियानसित भने ।

अर्का आयातकर्ता ओमप्रकाश मोर रूस–युक्रेन युद्ध चाँडै समाधान नभए खाने तेल, गहुँ, मकै, दलहन र पेट्रोलियम पदार्थको आपूर्तिमा गम्भीर समस्या निम्तिने बताउँछन् ।

यस्ता वस्तुको स्रोतमै समस्या भएपछि अभाव हुने र त्यसका आडमा मूल्यवृद्धिको मार पर्ने व्यवसायी मोरको तर्क छ । युद्ध रोकिएपछि पनि युक्रेनलाई पुरानो लयमा फर्किन समय लाग्ने भएकाले त्यहाँबाट हुने आयात सामान्य अवस्थामा आउन त्यति नै समय लाग्ने व्यावसायीको भनाइ छ । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले  खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्