२८ जेठ २०८३, बिहीबार
संसदमा एमसीसी

एमसीसीमाथि छलफल शुरू हुँदै, एक सांसदले ३ मिनेट बोल्न पाउने

फागुन १५, २०७८
एमसीसीमाथि छलफल शुरू हुँदै, एक सांसदले ३ मिनेट बोल्न पाउने

विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता माथि प्रतिनिधि सभामा आइतवार छलफल हुँदैछ ।

गत बिहीवार देखि नै छलफल शुरू गर्ने तयारी रहेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति खोज्न समय माग गरेपछि प्रतिनिधि सभा बैठक सूचनामार्फत आजसम्मको लागि स्थगित भएको थियो । 

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे पछि बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यसपछि एमसीसीबारे सदनमा सैद्धान्तिक छलफल शुरू हुनेछ ।

सैद्धान्तिक छलफलका क्रममा बोल्न चाहने सांसदलाई ३ मिनेटको समय दिने सहमति कार्यव्यवस्था परामर्श समितिमा भएको छ । विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएमा दफावार छलफलका क्रममा दलीय आधारमा सांसदहरूलाई बोल्न दिइने छ । 

एमसीसीको विरोध गरेका दलले विचार गरियोस् भन्ने प्रस्ताव नै अस्वीकृत गराउने रणनीति बनाएको भन्दै प्रधानमन्त्रीले विपक्षी नेकपा एमालेसँग छलफल गरेका थिए । शनिवार रातिसम्म भएका छलफलमा एमाले र कांग्रेस ठोस सहमतिमा पुग्न सकेका छैनन् ।

यसअघि एमसीसीलाई मतविभाजनमा लैजानु पर्ने बताउँदै आएको माओवादी वैकल्पिक मध्यमार्गी विकल्पमा जान सहमत भएको छ । संसद बैठक बहिस्कार गर्ने या संकल्प प्रस्ताव पारित गर्ने लगायतका विकल्पमा माओवादी तयार भएको स्रोतले बतायो । 

मतविभाजनमा लगेमा यो प्रस्तावमाथि सांसदहरुले हस्ताक्षर गरेर मत प्रकट गर्नुपर्नेछ । सभामुखले मतविभाजन गराउने तयारी गरेको भन्दै सरकारले त्यसो नगर्न आग्रह गरेको थियो ।

बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सैद्धान्तिक छलफल दुईदिन चलाएर निर्णयार्थ पेश गर्ने सहमति गरेको थियो । तर एमसीसी अनुमोदनको लागि भोलिसम्मको समय रहेकोले छलफल आजै टुंगाउने सचिवालयको तयारी छ । 

दिउसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । कांग्रेससँग सहमति नजुटेकाले आइतवारको बैठकमा पनि एमालेले विगतमा जस्तै नाराबाजी गर्ने तयारी गरेको छ । नाराबाजीका बीच एमसीसीबारे छलफल गराउने सभामुखको तयारी छ । 

एमसीसी माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएमा आजै दोस्रो या भोलि अर्को बैठक बसेर एमसीसी अनुमोदन हुने कांग्रेस स्रोतले बतायो । समय छोटो रहेकोले आजको बैठक स्थगित नहुने कांग्रेसका एक सांसदले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्