३० जेठ २०८३, शनिबार

सरसर्ती २४ घण्टा : देशभर के–के भयो ?

फागुन १५, २०७८
सरसर्ती २४ घण्टा : देशभर के–के भयो ?

आज मिति २०७८ साल फागुन महिनाको १५ गते आइतबार । पछिल्लो २४ घण्टामा भएका घटनाक्रमलाई लोकान्तर राउण्डअपमा समेटिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नटुट्ने र सहमतिमै एमसीसी अघि बढ्ने बताएका छन् । 

सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेर बाहिरिने क्रममा प्रचण्डले एमसीसीकै कारण गठबन्धन नटुट्ने बताएका हुन् । दुवै पार्टी एमसीसी अनुमोदनमा कांग्रेसलाई सघाउन तयार भएका छन् । फागुन ८ गते संसदमा पेश भएको एमसीसी अनुमोदनका लागि गठबन्धनमा रहेका दलले साथ नदिने देखेपछि कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद अघि बढाएको छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपाल कार्यकारिणी समितिको दोस्रो दिनको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ । एमसीसीका विषयमा निर्णय गर्ने भनिए पनि सो विषयमा कुनै निर्णय हुन नसकेको प्रचार विभाग प्रमुख तथा कार्यकारिणी सदस्य डम्बर खतिवडाले जानकारी दिए ।
००००
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको शहीद विक्रम परियारको अर्धकदको शालिक अनावरण गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
००००
नेकपा एमाले र कांग्रेसका नेताहरूबीचको वार्ता विनानिष्कर्ष भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिबार दुई पार्टीका शीर्ष तहका नेताहरूबीच छलफल भएको थियो । शनिबारको संवादमा पनि दुई पार्टी निष्कर्षमा पुग्न नसकेको कांग्रेसका नेता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
००००
सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो । 
 सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसीआर परीक्षण निःशुल्क हुनेछ ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन्। 
एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले आज  आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताए ।  
००००
एक किलो बढी सुनसहित दुबईबाट आएका एक नेपाली पक्राउ परेका छन्  । फागुन १३ गते  फ्लाई दुवईको उडानमा  नेपाल आगमन भएका सुनसरीका ३४ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनको साथबाट सिक्रि बनाएर ल्याइएको ११६५ ग्राम (अन्दाजी अन्ठानब्बे लाख सतासी हजार नौ सय सैतीस रुपैयाँ बराबरको) सुन बरामद भएको हो ।
००००
आइतवार बस्ने संसद् बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद महासचिव भरतराज गौतमले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी सम्झौतामाथिको छलफल दोस्रो नम्बरमा राखिएको छ ।
००००
पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ नमूना परीक्षणमध्ये १०१ पीसीआर र ५४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९३४ छ । 
मन्त्रालयका अनुसार थप ५४० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ । 
हाल मुलुकभर ८ हजार ८३९ सक्रिय संक्रमित छन् । ओमिक्रोनको प्रभाव बढेका बेला सक्रिय संक्रमितको संख्या ९० हजारसम्म पुगेको थियो । 
००००
चलचित्र निर्देशक सुदर्शन थापा र अभिनेता पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी प्रहरीको नियन्त्रणमा परेका छन् । 
एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका पलसँग निरन्तर सम्पर्कमा भएको देखिएपछि थापालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
००००
नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ । 

शुक्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट शुरू गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर यादवले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्