
एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका नायक पल शाहले आज आफैं प्रहरीमा उपस्थित हुने जानकारी गराएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै शाहले नेपालको कानूनलाई सम्मान गर्दै आफैं प्रहरीसामु उपस्थित हुन लागेको जानकारी गराएका हुन् ।
स्वास्थ्य स्थिति र आफ्नो फिल्म रिलिज भएका कारण केही दिन प्रहरीको सम्पर्कबाहिर रहेको जानकारी गराउँदै उनले अब आफैं प्रहरीसामु जाने उल्लेख गरेका छन् ।
'मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म "म यस्तो गित गाउँछु २" गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानूनलाई सम्मान गर्दै आज (आइतवार) नेपाल प्रहरीसामु म आफैँ उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु, धन्यवाद !' शाहले फेसबूकमा लेखेका छन् ।
एक गायिकाले जबरजस्ती करणीको आरोपसहित जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरुद्ध किटानी जाहेरी दिएकी छन् ।