१७ असार २०८३, बुधबार

बलात्कारबारे 'बुवालाई भनिदिन्छु' भनेपछि हत्या, लाइटरले खोल्यो पोल

फागुन १५, २०७८
बलात्कारबारे 'बुवालाई भनिदिन्छु' भनेपछि हत्या, लाइटरले खोल्यो पोल

मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया करुणा राईको हत्याका आरोपी ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरी मोरङ प्रहरीले सार्वजनिक गरेको छ । 

आइतवार पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरिएको हो । 

गत बुधवार साँझ विद्यालयबाट घर फर्कने क्रममा लेटाङ– ८, लालहीरा सामुदायिक वनमा बालिकाको बलात्कारपछि हत्या भएको थियो । उनको शव शुक्रवार भेटिएको थियो । 

बुधवार बालिका विद्यालयबाट एक्लै फर्केको देखेपछि गिरीले पछ्याएका थिए । 

बालिकालाई गिरिले फकाएर घर जाने छोटो बाटो देखाइदिन्छु भन्दै जंगलभित्र लगेको र मुख थुनेर बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले जानकारी दिए । 

‘बलात्कारपछि बालिकाले बुवालाई भनिदिन्छु भनेर भागेकी रहिछन्,’ उनले भने, ‘इज्जत जाने डरले भाग्दै गरेकी बालिकालाई समातेर गिरीले घाँटी थिचेर हत्या गरेको देखिन्छ ।’ 

प्रमाण नष्ट गर्नका लागि बालिकाले लगाएका पोशाक र जुत्ता घरनजिकै रहेको खोल्सीमा जलाएको पाइएको एसपी जिसीले बताए ।

कपडा तथा जुत्ता जलाउन प्रयोग गरेको लाइटरका आधारमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो ।

कपडा जलाएको स्थानमा लाइटर, कपडामा प्रयोग गरिने बटम, फ्रकमा लगाउने खिप तथा क्लिप, जाँते उच्चमावि लेखिएको कम्मर पेटीको बक्कल र कडी, जलेको अवस्थामा रहेको जुत्ताको सोल, जुत्ताको तुना छिराउने बटम र स्क्रिन फुटेको मोबाइल लगायतका सामाग्री भेटिएको प्रहरीले जनाएको छ ।

तिनै सामग्रीका आधारमा अपराधीलाई भेट्टाउन सफल भएको प्रहरीले जनाएको छ । लाइटर कसको हो भनी सोधखोज गर्दा गर्दा गिरीले मेरो हो भने पछि उनलाई नियन्त्रणमा लिएको एसपी जिसीले बताए ।

आरोपी गिरीको घरको बाटो हुँदै बालबालिका स्कूल जाने/आउने गरेका छन् ।

करुणाको शव शुक्रवार बिहान फेला परेको थियो । मृतकको शव ढुंगाले हिर्काएको र नग्न अवस्थामा भेटिएको थियो ।

बालिका जाँते माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत थिइन् । घटनास्थल बालिकाको घरबाट लगभग ३ किलोमिटर जति दक्षिण र उनी अध्ययनरत विद्यालयबाट लगभग २ किलोमिटर पश्चिममा पर्छ । 

बालिकाको शव भेटिएपछि प्रहरीले वास्ता नगरेको भन्दै स्थानीय तथा विद्यार्थीले आक्रोशित हुँदै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

घटनाका दोषी पहिचान गरी घटनास्थलमा उपस्थित गराएपछि मात्र स्थानीय र विद्यार्थीहरूले शव उठाउन दिएका थिए ।

पक्राउ परेका गिरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ बमोजिम जन्मकैदको मागसहित मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

गिरीकी श्रीमतीको क्यान्सरका कारण डेढ महिनाअघि मात्र मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्