
नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले एमसीसीको कारण मुलुक ध्रुवीकृत अवस्थामा रहेको बताएका छ ।
संसद्मा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलमा सहभागी हुँदै बस्नेतले एमसीसी एउटा विषय भए पनि त्यसका अनेक प्रभाव परिरहेको बताएका हुन् ।
‘एमसीसी आफैँ एउटा परियोजनाको रूपमा हो वा होइन, अथवा आर्थिक सहायताको विषय मात्रै छ भन्ने कुराको छलफल, बहस, विवाद मात्र होइन त्यसले मुलुकलाई ध्रुवीकृत गर्ने तहमा पुर्याएको छ’, बस्नेतले भने ।
एमसीसीले इन्डो–पसिफिक रणनीतिमा नेपालको सम्बद्धता देखाउँछ कि देखाउँदैन भन्ने यकिन गर्नुपर्ने र असंलग्न परराष्ट्र नीतिलाई कायम राखेर कुनै सैन्य व्यवहार स्वीकार्य हुँदैन भन्न सक्नुपर्ने बस्नेतले बताए ।
‘सम्झौतामा उल्लेख भएको भाषाले बौद्धिक सम्पत्ति, लेखा परीक्षणसहित नेपालको संविधान र कानूनभन्दा सम्झौतामाथि हुने कुराको तथ्यपूर्ण जवाफ दिनुपर्छ । यस्तो अवस्थामा मेरो गोरुको बाह्रैटक्का भनेर बस्नुहुँदैन’, बस्नेतले संसद्मा भनेका छन् ।