नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मुलुकलाई शीतयुद्धबाट बचाउन एमसीसी सम्झौतालाई संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताएका छन् ।
आइतवार संसदमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलमा सहभागी हुँदै पोखरेलले सम्झौतामा प्रयुक्त भएको शब्दले नेपालको संविधान र कानुनलाई निष्प्रभावी बनाउने धारणा राखेका छन् ।
‘अमेरिकाको वर्तमान भविष्यमा बन्ने कानून पालना गर्नुपर्ने व्यवस्था उल्लेख भएको छ । सम्झौता पारस्परिक हितका आधारमा तय भएको छैन,’ पोखरेलले भने ।
एमसीसी कार्यन्वयन हुँदा विदेशी कम्पनीले नेपालले समानान्तर सरकार सञ्चालन गर्ने उनले बताए ।
‘एमसीसीका गोप्य र पूरक सम्झौता गरिएको भनिएको छ । त्यो सबै सम्झौता संसदमा उपलब्ध गराउनुपर्छ,’ पोखरेलले भने ।
एमसीसी संसदबाट अनुमोदन हुँदा अन्य अनुदान र सहयोग लिन पनि संसदबाट अनुमोदन गर्नुपर्ने नजिर स्थापित हुने उनले बताए ।
सम्झौतामा भारतको पनि अनुमति चाहिने भन्ने व्यवस्था उल्लेख भएको कारण एमसीसी द्विपक्षीय सम्झौता मात्रै नभएको उनले बताए ।