
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटालाई घुँडा टेकाउने कुरा नसोच्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
मंगलवार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भने, ‘सभामुखको पक्षमा हामी दृढताका साथ उभिन्छौं । सभामुखले राजीनामा दिने, खुरुक्क समर्पण गर्ने, घुँडा टेक्ने केपी ओलीसामु ? नचिताए हुन्छ । हामी उहाँको पक्षमा दृढताका साथ उभिन्छौं ।’
एमाले अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटाले असंवैधानिक काम गरेकाले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको नेपालको दाबी छ । ‘जुन सभामुखले संसदको गरिमाको रक्षा गरिरहनुभएको छ । जसले सांसदहरूको अधिकारको रक्षा गर्नुभएको छ । उसमाथि धारे हात लगाउने ? आरोप लगाउने ? त्यस्तो दुष्चेष्टा गर्ने ? अपमानपूर्ण व्यवहार गर्ने ? सभामुखको गरिमाको रक्षा नगर्ने ? केपी ओलीको यो प्रवृत्ति अत्यन्तै असभ्य र गलत छ,’ नेपालले भने ।
अर्को प्रसङ्गमा नेपालले आगामी दिनमा अन्तर्राष्ट्रिय सन्धिसम्झौता गर्दा विशेष ध्यान पुर्याउनुपर्ने बताएका छन् । सरकार तथा मन्त्रालयका नेतृत्वकर्ताले देशप्रेमी, विषयवस्तुको ज्ञान भएको र अनुभवीहरूलाई सन्धिसम्झौता गर्ने काममा खटाउँदा समस्या नआउने उनले बताए ।