०९ असार २०८३, मंगलबार

एमसीसी अनुमोदन गरेपछि रिसाएका श्रेष्ठलाई फकाउँदै प्रचण्ड

फागुन १८, २०७८
एमसीसी अनुमोदन गरेपछि रिसाएका श्रेष्ठलाई फकाउँदै प्रचण्ड
फाइल फोटो

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् ।

एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले ५ दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब के गर्ने भन्दै छलफलमा जुटेपछि दाहाल उनलाई फकाउन लागिपरेका छन् ।

एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर माओवादी पार्टीमा विवाद चर्कंदै गएपछि श्रेष्ठले नयाँ पार्टी गठन गर्ने चर्चा समेत भइरहेको छ । अध्यक्ष प्रचण्ड मंगलवार श्रेष्ठलाई फकाउन हात्तीवनस्थित उनको निवास पुगेका पुगेका छन् ।

प्रचण्ड र श्रेष्ठ बीचको भेटपछि प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पार्टीमा कोही कसैप्रति असहिष्णु र अमर्यादित नहुन आग्रह गरेको बताए ।

प्रचण्डको सचिवालयले पार्टीभित्रको असहमति कमिटीभित्रै दर्ज गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । अध्यक्ष प्रचण्डले श्रेष्ठसँग भेटेर आफ्ना असन्तुष्टि पार्टीको बैठकमा राख्न आग्रह गरेका छन् ।

पार्टीमा नेताहरूबीच कहिलेकाहीँ मुद्दागत वा विषयगत अस्पष्टता र असहमति हुने तर ती विषय पद्धतिअनुरूप पार्टी कमिटीमा दर्ज गर्नुपर्ने प्रचण्डका स्वकीय सचिव मल्लले बताए ।

श्रेष्ठले संसद्बाट एमसीसी पारितको दिनलाई आमदेशभक्त नेपाली जनताले ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् ।

प्रचण्डसँगको भेटमा नेता श्रेष्ठले एमसीसी राष्ट्रहितविपरीत हुँदाहुँदै पारित गर्न सहमति किन गरेको भन्दै असन्तुष्टि पोखेका छन् । माओवादी स्रोतका अनुसार प्रचण्डसँग श्रेष्ठ अझै असन्तुष्ट छन् । प्रचण्डले जति फकाए पनि उनी आफ्नो अडानमा यथावत् छन् ।

यसअघि माओवादीको बैठकमा नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना बिशंखे, रेखा शर्मा लगायतका नेताहरूले एमसीसी पारित गर्नुहँुदैन भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सांसदहरू रेखा शर्मा, जयपुरी घर्ती, यशोदा सुवेदी लगायतका नेताहरू समेत प्रचण्डबाट असन्तुष्ट छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले श्रेष्ठतर्फ इंगित गर्दै एमसीसीको विरोध गरेर सबै कार्यकर्ता र जनता आफूतिर आउँछन् भन्ने नठान्न भनेका थिए । वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी प्रचण्डले गरेका थिए । उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने भनेका थिए । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्