
‘एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थिति’बारे नेकपा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि सञ्चारकर्मी मित्रहरूलाई अनुरोध गर्दछौं,’ नेकपा एमालेका कार्यकर्ताद्वारा सामाजिक सञ्जालमा जारी सूचनामा उल्लेख थियो ।
समय उल्लेख थियो – मंगलवार दिउँसो १ बजे । यस्ता कार्यक्रममा तोकिएको समयभन्दा एक, डेढ घण्टा ढिला उपस्थित हुुनु एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओलीको विशेषता नै बनिसकेको छ तर मंगलवार ओलीले आफ्नै पुरानो रित तोडे ।
अध्यक्ष ओली ठीक ११ बजेर १० मिनेटमा कार्यक्रमस्थल तीनकुनेस्थित रोयल बेन्क्वेट आइपुगे । उनी आउनुअघि नै ड्यास अगाडि क्यामेरा ठडिइसकेका थिए ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रम सञ्चालन गरेलगत्तै उपमहासचिव प्रदीप ज्ञवालीले ४ पृष्ठ लामो १२ बुँदे प्रेस विज्ञप्ति वाचन गरे ।
प्रेस विज्ञप्ति लगायतका सामग्री मेलमा पठाउँदै आएको एमालेले मंगलवार विज्ञप्ति पढेर सुनाएपछि फोटोकपी बाँडेको थियो ।
विज्ञप्ति पढिसकेपछि रिजालले पत्रकारलाई प्रश्न राख्न आग्रह गरे । एमसीसी पारित भएर ठीक भयो कि बेठीक ? सभामुखविरुद्ध महाअभियोग किन दर्ता नगरेको, यो वक्तव्य १५ गते अगाडि नै किन आएन ? फेरि चुनावमा जाँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालले काम गर्न दिएनन् भन्ने हो कि अरू पनि मुद्दा छ ? यस्तै यस्तै प्रश्न थिए ।
प्रश्न गरेको खासै मन नपरेको छनक ओलीको अभिव्यक्तिले दियो । कुुराको शुरू गर्दै उनले भने, ‘१२ वर्ष रामायण पढ्यो सीता कसकी जोई ? हामीले विज्ञप्तिमै सबै कुरा भनिसकेका छौं त ! राष्ट्रिय आवश्यकताका आयोजनामा बाह्य लगानी, ऋण स्वीकार्छांै ।’
एमसीसीकै सन्दर्भमा उनले भने, ‘हाम्रो स्वतन्त्रतालाई कुनै पनि हिसाबले अलिकति संकुचित गर्न खोज्छ भने त्यस्ता कुरा हामी स्वीकार्दैनौं ।’
विगतका कार्यक्रममा जस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल र सभामुख अग्नि सापकोटाका विषयमा प्रशस्त असन्तुष्टि जाहेर गरे ।
एमसीसीका सन्दर्भमा सत्तारूढ दलहरूले भन्दै आएको व्याख्यात्मक घोषणालाई ‘तथाकथित व्याख्यात्मक’ भन्दै अध्यक्ष ओलीले त्यसको कुनै औचित्य नभएको बताए । एससीसीको विरुद्धमा भएको आन्दोलन दाहाल र नेपालको निर्देशनमा भएको उनको भनाइ थियो । माधव र प्रचण्डले कार्यकर्तालाई हिंसात्मक ढंगले उतारेको भन्दै उनले भने, ‘सडक भत्काएर, ढुंगा हानेर, विपक्षी दलका नेताका गाडीमा ढुंगा हानेर नक्कली कुरा गर्नु भो !’
संसद्बाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीको भनाइ थियो । उनले सत्तारूढ दलहरूले आफ्नो लाज छोप्न, नेपाली जनतालाई अल्मल्याउन व्याख्यात्मक घोषणा संसद्बाट पारित गरेर ठगी धन्दा चलाएको तर्क गरे ।
‘एमसीसीको व्याख्यात्मक घोषणासँग कुनै सम्बन्ध छैन । यो लाज छोप्नका लागि ल्याइएको हो । व्याख्यात्मक घोषणा नेपाली जनतालाई झुक्याउने, अलमल्याउने, धोका दिने एउटा ठगी धन्दा हो । त्योभन्दा माथि केही पनि होइन यो व्याख्यात्मक घोषणा,’ उनले भने ।
सभामुख र माधव नेपालको पद जाने भएपछि बाध्य भएर एमसीसी पास गरेको पनि उनको भनाइ थियो ।
आपूmले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा चौतर्फी आलोचना भएको प्रसंगमा टिप्पणी गर्दै अध्यक्ष ओलीले देउवा सरकारले एमाले फुटाउनकै लागि नयाँ अध्यादेश ल्याएको दोहोर्याए । सभामुखलाई महाअभियोग किन नलगाएको भन्ने प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, ‘नेकपा एमाले एउटा जिम्मेवार पार्टी हो । सभामुखमाथि महाअभियोग ल्याउँदैन भन्ने पनि छैन । ल्याउन सक्छ । ल्याउँछ नै भन्ने पनि छैन ।’
उनले त्यही प्रसंगमा थपे, ‘उहाँले राजीनामा गर्नुभयो भने नल्याउन सक्छ । हामी उहाँको राजीनामा पर्खिराखेका छौं । ससम्मान बर्हिगमन हुनुस् । ससम्मान हटनुस् । कमसेकम संसद्ले निष्कासन गर्नुपर्यो भन्ने नहोस् भन्ने पनि हामीले सोचिराखेका छौं । उहाँका क्रियाकलाप अनुचित छन् । तर, त्यो अनुचित क्रियाकलापलाई सच्याउने वा के गर्ने विषयमा एमालेले उपयुक्त समयमा विचार गर्छ ।’
अध्यक्ष एक चरण बोलिसकेपछि फेरि केही सञ्चारकर्मीले प्रश्न राखे एमसीसीका सन्दर्भमा । अमेरिकी प्रतिनिधिसँग भएको वार्ता, महाकाली सन्धिलगायतका विषयमा पत्रकारले प्रश्न गरे । महाकाली सन्धि राष्ट्रिय हितमा भएको भन्दै अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारका सन्दर्भमा फेरि पुरानै कुरा गरे ।
देउवा नेतृत्वको सरकारलाई ‘परमादेशी सरकार’ भन्दै आएका ओलीले यो सरकार असंवैधानिक ढंगको भएको दोहोर्याउँदै भने, ‘यो कुनै प्रकारको अनैतिक सम्बन्धबाट जन्मिएको सरकार हो । यसको जन्म झाडीमा भएको हो । यो सरकार तत्काल विघटन गर्नुपर्छ र नयाँ जनादेशमा जानुपर्छ ।’ आफ्नो पार्टीले यो सरकार बन्नै नदिने भनेर लागेको भन्दै उनले भने, ‘हामी त यो सरकार बन्नै हुन्न भनेर लागेका थियौं । ढाल्ने कुरा कसरी आयो ?’
वाकपटुतामा पोख्न ओलीले गरीबको बच्चा मरेको लोककथामा धनी पात्रले गरेको मुख्र्याइँको प्रसंग मात्रै सुनाएनन्, चिनियाँ नाटकको प्रसंग उल्लेख गर्दै माधव नेपाल र प्रचण्डले बहुरूप प्रस्तुत गरेको टिप्पणी गरे तर नेपाली कांग्रेसको भने उनले धेरै आलोचना गरेनन् ।
कांग्रेस र एमालेले कुनैबेला सत्ता टिकाउनका लागि कहिले लोकेन्द्रबहादुर चन्द त कहिले सूर्यबहादुर थापा बोकेको प्रसंग स्मरण गर्दै कांग्रेस र एमालेजस्ता पार्टीले अब यस्ता हर्कत दोहोर्याउन नहुने टिप्पणी गरे ।
चुनावका सन्दर्भमा गठबन्धन देशका लागि नभएर ती पार्टीहरूका लागि आवश्यक भएको उनको टिप्पणी थियो । गठबन्धनमा आबद्ध दलका नेताहरूको घुँडाको छाला गइसकेको टिप्पणी गर्दै ओलीले भने, ‘एक जना त उछिट्टी सके क्यारे ।’
एमाले कसैलाई चुनावमा एक्लै आऊ भन्दैन भन्दै उनले गठबन्धनमा आबद्धहरूलाई मिलेर आउन आग्रह गरे । उनले थपे, ‘तर जीत भने एमालेकै हुन्छ ।’ राजधानीमा खबर छ ।