
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) पारित गर्ने प्रक्रियामा एमालेको चरित्र राष्ट्रवादी नदेखिएको आरोप लगाएका छन् ।
एमाले अध्यक्ष केपी ओली विपक्षमा उभिएको भए एमसीसी पास नहुने सम्भावना प्रवल रहेको उनले दाबी गरे ।
एमसीसी खारेजीको लागि दबाब दिन साना वामपन्थी दलले आयोजना गर्न लागेको विरोध सभा र कार्यक्रमबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले एमसीसी पारित गर्दा एमालेले पनि षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।
‘एमसीसी संसदमा दर्ता गर्दा एमालेको दुई तिहाइको सरकारको थियो, अहिले एमसीसी टेबुल गर्दा कांग्रेसले आफ्नो डिफेन्स गर्न त्यो कुरा स्मरण गरेको थियो । एमसीसी मामिलामा एमाले अध्यक्ष ओलीको क्यारेक्टर पिओर राष्ट्रवादी देखिएन । ओली विरुद्धमा खडा भएको पास नहुने थियो,’ प्रकाण्डले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीले सीधा नाक समात्नु भयो, ओलीजीले घुमाएर नाक समात्नु भयो । त्यसकारण ओलीको पनि षड्यन्त्र देखियो ।’
एमसीसी खारेजीका लागि दबाब दिन शुक्रवार काठमाडौंमा विशाल सभा आयोजना गर्न लागिएको उनले बताए ।